सुन बनाइदिने भन्दै ठगी गर्ने ६ भारतीय पक्राउ

भोजपुर – पूर्वी पौवादुम्मा गाउँपालिकामा सुन बनाइदिने भन्दै ठगी गर्ने ६ जना भारतीय नागरिक पक्राउ परेका छन् । गाउँमा सुन बनाइदिने भन्दै सक्कली सुन लिने नक्कली सुन दिँदै ठगी गर्ने ६ जना समूहमा रहेको भारतीय नागरिकलाई पौवादुम्मागाउँपालिका–४ बाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले सुन पगाल्ने केमिकलसहित ठगी गर्ने ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पौवादुम्मा गाउँपालिका वडा नम्बर ४ वास्तिमकी २६ वर्षीया दिलमाया प्रधान, ३४ वर्षीया मेनुका प्रधान, ५६ वर्षीया बेनमाया प्रधानलाई गहना बनाई दिन्छु भन्दै झुक्याएर सुन लुकाएको र त्यसको साटो सुन जस्तो देखिने पहेंलो धातु नक्कली सुनको गरगहना दिएर ठगी गरी अन्यत्र जाँदै गरेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सहयोगमा नै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

ठगीमा संलग्न मोतिहारी, अंचल घोडासहन वडा नं १४ सरस्वती चौक विहार भारत बस्ने वर्ष ३१ का लवकुश साह, वर्ष २२ का जितेन्द्र साह, वर्ष १९ का श्रवणकुमार साह, वर्ष २२ का रविन्द्र साह, वर्ष १८ को रमेश कुमार र वर्ष ३६ का राकेश कुमार गरी ६ जनालाई पक्राउ गरिएको छ ।

 

कमेन्ट गर्नुहोस्