खुसी र स्वास्थ्य जीवनको लागि प्रकृतिसँग कसरी एकाकार हुने ?

तपाईं/हाम्रो स्थुल शरीरको निर्माण कसरी भएको छ ? एकपटक ध्यानमग्न भएर सोचौं त । योग विज्ञानले शरीरलाई पाँच तत्वले मिलेर बनेको हुन्छ भन्छ । आकाश, वायु, अग्नी, जल, पृथ्वी । शरीरको रचनालाई बुझ्ने हो भने यसको अद्भूत शक्ति र महत्वलाई पनि हामी अन्दाज गर्न सक्छौं ।

तर, आफ्नै शरीरका सम्पूर्ण शक्ति र प्रक्रियाबारे हामी अनभिज्ञ छौं । दुःखलाग्दो त के भने शरीरका यी गुण, विशेषता, शक्तिबारे बेखबर रहेरै हामी देहत्याग गर्छौं । अर्थात आफैसँग भएको, आफ्नै शरीरको प्रक्रिया र सामथ्र्यबारे जान्न नपाउँदै हामी भौतिक संसार त्यग्न पुग्छौं ।

स्मार्टफोन र जीवन

भनिन्छ नि, एउटा स्मार्टफोनमा अनेक फंसन हुन्छ । तर, त्यसमध्ये अति आशिंक फंसनबारे हामी जानकारी राख्छौं । कल गर्न, भिडियो/फोटो खिच्न, केही एप्स चलाउन भन्दा अरु केही गर्दैनौं । अर्थात जति मूल्य चुकाएर हामीले स्मार्टफोन खरिद गर्छौं, त्यस अनुरुप स्मार्टफोनको उपयोग गर्दैनौं । किनभने त्यसको सम्पूर्ण उपयोगिताबारे हेक्का नै राखिदैन ।

ठीक यसैगरी शरीरको रचना र विज्ञान, यसको शक्ति र सौन्दर्य हामी खोज्दैनौ, जान्दैनौ । आफ्नै शरीरसँग के-कस्ता शक्ति छन्, के-कस्ता प्रणाली छन् भन्ने कुरामा थाहा पाउँदैनौ । जबकी हाम्रा पूर्खाहरुले शरीरको महत्व र शक्ति कति छ भन्ने कुरा प्रयोगबाट नै प्रमाणित गरिसकेका थिए । योग-विज्ञान त्यसैको नतिजा हुन् ।

योग-विज्ञानले शरीरको संरचना र आयमबारे प्रष्ट पारेको छ । यसलाई बुझियो भने शरीर कति अनमोल छ भन्ने कुरा प्रष्ट हुन्छ ।

शरीरः माटोको रचना

शरीर अद्भूत छ । यो प्रकृतिको सुन्दर रचना हो । र, यो माटोबाट प्रस्फुटित एक उन्नत रुप हो । जसरी कुनै सुन्दर बुट्यान, मगमगाउने फूल, रसिलो फल माटोबाट उब्जिएका हुन् । त्यसैगरी शरीर पनि माटोकै रचना हुन् ।

माटोमा उब्जिएको शरीर माटोमा नै बिलय भएर जान्छ । यो कुरालाई हामीले बोध गर्‍यौं भने यो पवित्र शरीरभित्र अहंकार, दम्भ, लोभ, रिस जस्ता विकारहरु पालेर राख्ने छैनौं । तर, शरीरको रचनाबारे बेखबर भएकाले हामी यी विकारहरु भण्डारण गरेर शरीरलाई अपवित्र तुल्याउँछौं । दुषित तुल्याउँछौं ।

जसरी वायुमण्डल दुषित भएपछि त्यसले अनेक समस्या निम्त्याउँछ, त्यसैगरी शरीरभित्रका दुषित भावनाले पनि शरीरलाई रोगी एवं जीर्ण बनाउँछ । आधुनिक जीवनशैलीमा जे-जति रोग फैलिएका छन्, त्यसमा धेरैजसो त हाम्रो शरीरभित्रै उब्जिएका छन् ।

किस्ताबन्दीमा आत्महत्या

शरीरभित्र अथाह शक्ति छ । अद्भूत सौन्दर्य छ । तर, हामी शरीरभित्र कहिल्यै प्रवेश गर्दैनौं । बाहिरी सुखभोगको चक्करमा आफ्नो शरीरलाई बेवास्ता गर्छौं । चाहिने-नचाहिने खान्छौं । अप्राकृतिक जीवनशैलीमा रमाउँछौं । यसरी आफ्नै शरीरलाई हेला गर्छौं । अपमान गर्छौं । यसको नतिजा के हुन्छ ?

शरीरमा अनेक रोग, कष्ट, पीडा थपिन्छ ।

गौतम बुद्धलेभ नेका छन्, ‘रोगी शरीर लिएर बाँच्नु भनेको जीवन होइन, केवल पीडाको एक स्थिती हो ।’

योग-विज्ञानले रोगी शरीर लिएर बाच्नुलाई ‘किस्तावन्दीमा आत्महत्या गर्नु’ भनेका छन् । यसर्थ रोगी भएर वा पीडादायक अवस्थामा जीवन गुजार्नु आफैमा एक सजाय हो । यातना हो । यातनाका लागि हिरासतमै पुग्नुपर्छ भन्ने छैन । आफ्नै घरको आरमदायक सयनमा पनि हामी यातनापूर्ण जीवन विताइरहेका हुन्छौं ।

अतः यस्तो पीडा, यातनाबाट उन्मुक्त भएर उल्लासमय, उर्जामय, सुखमय जीवन विताउनका लागि हामीले प्रकृतिसँग एकाकार हुनुपर्छ । माटोसँग एकाकार हुनुपर्छ । हामी जति धेरै प्रकृतिबाट विमुख हुन्छौं, उत्तिनै पीडा झेल्नुपर्ने हुन्छ ।

प्रकृतिसँग हातेमालोः जीवन सुखी र निरोगी

माटोमा खेल्नुहोस्, बनजंगलमा विचरण गर्नुहोस्, प्रकृतिले दिएको फल, अन्न सेवन गर्नुहोस् । प्रकृतिले हाम्रो शरीरलाई सन्तुलित र स्वस्थ्य राख्न उपयुक्त समयमा विभिन्न फल, अन्न आदि उब्जाउँछ । तर, हामी प्रकृति विरुद्ध जान्छौं ।

प्रकृतिले पुस-माघमा उब्जाउने फललाई हामी चैत्र-वैशाखमा फलाउने यत्न गर्छौं । प्रकृतिले काँचो खान दिएको खानेकुरालाई तारेर, पकाएर, भुटेर खाने चेष्टा गर्छौं । बनजंगल फाडनी गर्छौं र घरमा प्लाष्टिकको कृतिम फूल सजाउँर्छौं । यसरी प्रकृतिबाट विमुख भइरहँदा हामी रोगको दलदलमा फस्दै जान्छौं । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्