कानून कार्यान्वयन गर्न जनताको चेतानास्तर बढाउनुपर्छः राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

काठमाडौं, पुस १३ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संविधान र ऐनमा भएको व्यवस्थालाई पूर्ण कार्यान्वयन गर्न जनताको चेतना स्तरमा बृद्धि हुन जरुरी रहेको बताएका छन् ।

समावेशी फाउण्डेशनले शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले लामो संघर्षपछि संविधानसभाबाट निमार्ण भएको संविधानले दलितलगायत सबै समुदायलाई पर्याप्त अधिकार दिएको जानकारी दिए ।

‘संविधान र त्यसअनुसार बनेका मौलिक र अन्य कानुनले जनतालाई पर्याप्त अधिकार दिएको छ,’ उनले भने, ‘संविधान र ऐनको पूर्ण कार्यन्वयन गर्न जनतालाई ती अधिकारबारे पर्याप्त जानकारी गराउन जरुरी छ ।’

त्यसैगरी अध्यक्ष तिमिल्सिनाले संसदले थुप्रै नयाँ विशेषता सहितका मौलिक हकसम्बन्धी कानुन निमार्ण गरिसकेको बताउँदै अब बन्ने ऐन कार्यन्वयन गर्न देशको क्षमता बृद्धि आवश्यक रहेको धारणा राखे ।

उनले निश्चित समयभित्र मौलिक हकसम्बन्धी कानुन निमार्ण गर्नुपर्ने भएकाले संसदमा पर्याप्त छलफल हुन नसकेको स्वीकार गरे । ‘आगामी दिनमा संसदले पर्याप्त छलफलमार्फत कानुन निमार्ण तथा समयअनुसार परिमार्जन गर्नेछ,’ उनले भने ।

दलित समुदायका सांसद तथा अधिकारकर्मी सहभागी संविधानको मौलिक हक कार्यान्वयनका लागि सरकराले ल्याएको विधेयकहरुमा दलित तथा सिमान्तकृत समुदायको सुझाव र संशोधन प्रस्तावको समिक्षात्मक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सभाका उपसचिव उदवीर नेपालीले एक कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै, सांसदलगायत अन्य सहभागीले त्यसबारे सुझाव र धारणा पेश गरेका थिए ।

कमेन्ट गर्नुहोस्