सारासँग अनमोल अफेयर

काठमाडौं । ‘सुश्री सम्पत्ति’ रिलिजको पूर्वसन्ध्यामा सारा शिरपाइली र अनमोल केसीको अफेयरको चर्चा चल्यो। धेरैको अनुमान थियो, यो फिल्म चलाउन निर्माण टिमले चलाएको हल्ला थियो। तर, सारा र अनमोलको अफेयर हल्ला मात्र नभएको अनमोल स्वयंको भनाइले पुष्टि भयो।

फिल्म ‘क्याप्टेन’को गीत सार्वजनिक गर्ने कार्यक्रममा अनमोल फिल्म र गीतभन्दा पनि सारासँगको अफेयरको प्रश्नले घेरिए। कुनै समय सारासँग भेट नै नभएको बताउँदै आएका उनले त्यो दिन आफू र साराबीच भेटघाट भएको स्विकार्न बाध्य भए। अनमोल साराको जन्मदिन मनाउन नगरकोटसम्म पुगेको चर्चा छ।

अनमोलले अहिलेसम्म आना शर्माबाहेक अरू हिरोइनसँगको अफेयरलाई लुकाएर राख्दै आएका थिए। त्यसो त उनको ‘कृ’ अभिनेत्री अदिति बुढाथोकीसँग पनि अफेयर रहेको हल्ला थियो। तर, यो फिल्मको प्रमोसनयता दुवै सँगै देखिएका छैनन्। अनमोलको व्यक्तिगत कुरा सितिमिति बाहिर निस्कन्न। तर, यो पटक निस्कियो। मतलब, हावा चलेर नै पात हल्लिएको हो।

कमेन्ट गर्नुहोस्