नेकपा बैठकः अध्यक्षद्वयका प्रतिवेदन परिमार्जनसहित पारित, प्रचण्डको प्रस्ताव अनुसार ८ सदस्यीय कार्यदल गठन

काठमाडौं, पुष १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पेश गरेको प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।

स्थायी समितिको शुक्रबारको बैठकले दुवै अध्यक्षका प्रतिवेदनहरु छलफलमा उठेका बहसका आधारमा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले जानकारी दिए ।

पार्टी र सरकार सञ्चालनका विषयमा आम रुपमा उठेका प्रश्नहरु र स्थायी समितिमा नेताहरुले प्रस्तुत गरेका विचारलाई आधार मानेर समस्या समाधानका लागि कार्यदल बनाउने निर्णय पनि स्थायी समितिले गरेको छ ।

बैठकमा आफ्नो सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले समस्या समाधानका लागि कार्यदल बनाउने प्रस्ताव गरेका थिए । जसअनुसार नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेताहरु सुरेन्द्र पाण्डे, योगेश ढकाल, बेदुराम भुषाल र लेखराज भट्ट सम्मिलित कार्यदल गठन भएको हो ।

कार्यदलले पार्टी एकताका समस्या समाधान बारे अध्ययन गरेर प्रतिवेदन बुझाउने कार्यादेश पाएको र अर्को बैठकले पारित गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । गत मंसिर २९ गतेबाट सुरु भएको नेकपा स्थायी समितिको बैठकमा सरकार संचालन र पार्टी एकतामा भएको ढिलाईका विषयमा अध्यक्षद्वयको चर्को आलोचना भएको थियो ।

कमेन्ट गर्नुहोस्