मूल्यवृद्धि विरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा झडप; १९ जनाको मृत्यु

खार्तुम (सुडान), पुस १३ । खाद्य सामग्री र इन्धनमा भएको चर्को मूल्यवृद्धिको विरोध गर्दै सडकमा उत्रिएका प्रदर्शनकारी र सुडानी प्रहरी बिचको झडपमा १९ जनाको ज्यान गएको छ ।

सुडान सरकारका प्रवक्ता बोसेरा जुमा आरोले जनाए अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण र एक सय ८७ सशस्त्र प्रहरी घाइते भएका छन् ।

उत्तर अफ्रिकी राष्ट्रमा मूल्यवृद्धिको विरोधमा गत सातादेखि नै प्रदर्शन भइरहेका छन् ।

गत साता सुडानको राजधानी सहर खार्तुममा प्रदर्शनकारीले नेसनल कङ्ग्रेस पार्टी (एनसीपी) को मुख्यालयमा आगजनी गरेपछि कर्फ्यु समेत लगाइएको थियो । प्रदर्शनकारीले राष्ट्रपति ओमार अल–बासिरको राजीनामा मागेका छन् ।

पछिल्लो समे पाउरोटीको मूल्यमा तीन गुणाले र इन्धनको मूल्यमा दुई गुणाले वृद्धि भए पछि जनता सडकमा उत्रिएका हुन् ।

सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको छ । साथै, इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरिएको छ । उक्त मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकार विरुद्ध राष्ट्रव्यापी प्रदर्शन भइरहेका छन् ।

 

कमेन्ट गर्नुहोस्