ट्रम्पको रवैया ‘दम्भपूर्ण’ भन्दै इराकी संसदमा उठ्यो अमेरिकी सैन्य फिर्ताको माग

बग्दाद, पुस १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिकाले संसारको रक्षा गर्ने ठेक्का नलिएको’ भन्ने बयान दिएको भोलिपल्ट नै अमेरिकाको रणनैतिक साझेदार राष्ट्र इराकको संसदमा इराकमा अमेरिकी सैन्य उपस्थिति विरुद्ध विरोधका स्वर सुनिन थालेका छन् ।

इराकी नेताहरूले अमेरिकाले सुटुक्क गरेको इराक भ्रमणले इराकको सार्वभौमसत्ताको खिल्ली उडाएको र यसमा उनको दम्भपूर्ण चरित्र उजागर भएको आरोप लगाएका छन् ।

युद्धग्रस्त क्षेत्रमा तैनाथ सैनिकसँग भेट नगरेको भनी देशभित्र आलोचना भइरहेको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आकस्मिक रूपले इराक भ्रमण गरे पछि देशभित्र उनको विरोध केही मत्थर भएपनि इराकी नेताहरुलाई भने उनको यस कदमले क्रुद्ध बनाएको छ । उनीहरुले इराकबाट अमेरिकी सैनिक अविलम्ब फिर्ता हुनुपर्ने माग गरेका छन् ।

अमेरिकी राष्ट्रपतिले इराकमा तैनाथ अमेरिकी सेनासँग इराकको अल–असद हवाई अखडामा बुधबार भेट गरेका थिए । राष्ट्रपति ट्रम्पले सुटुक्क गर्नुभएको भ्रमणलाई इराकी सांसदहरुले “दम्भपूर्ण” र “राष्ट्रिय सार्वभौमसत्ताको उल्लङ्घन” भनी व्याख्या गरेका छन् ।

याे पनि पढ्नुस  चीनसँग वार्तापछि ट्रम्पको अप्रत्यासित ट्विट- 'त्यहाँ किम पनि भइदिए भने...'

अमेरिकी राष्ट्रपतिहरुबाट युद्धग्रस्त क्षेत्रमा हुने भ्रमणलाई प्रायः गोप्य राखिने प्रचलन छ, र ट्रम्पको सवालमा पनि यही भएको बताइन्छ । अमेरिकी राष्ट्रपतिले इराक छाड्नु केही मिनेटअघि मात्र केही व्यक्तिलाई राष्ट्रपति ट्रम्प इराकमा रहेको जानकारी थियो ।

तर राष्ट्रपति ट्रम्पको यस पटकको आकस्मिक भ्रमणलाई लिएर इराकमा राजनीतिक विवाद उत्पन्न भएको छ ।

करिब तीन घण्टा हवाई अखडामा बिताएका राष्ट्रपति ट्रम्पले सैनिकहरुलाई सम्बोधन गर्दै इस्लामिक स्टेट समूह समाप्त भएको बताएका थिए । उनले सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्ने आफ्नो निर्णय सही भएको दाबी समेत गरेका थिए । उनले भने, “हामीलाई अरु देशले बल्ल देशको मान्यता दिन थालेका छन्, हामी अरुमाथि राज्य गर्ने मुलुक होइनौं ।”

याे पनि पढ्नुस  उत्तर कोरियालाई ट्रम्पको चेतावनी: ‘आक्रमण गरे नराम्रोसँग पछुताउनु पर्ला’

तर ट्रम्पको भ्रमणप्रति इराकी सांसदहरुले बिरोध गर्न थालेका छन् । “ट्रम्पले आफ्ना सीमाको विचार गर्नु पर्दछ । इराकमाथि अमेरिकी अतिक्रमण अब सकिएको छ,” इराकी सांसद सबाह अल–सैदीले बताए । ट्रम्प सुटुक्क इराक आएकोप्रति रोश प्रकट गर्दै उनले भने, “मानौं, इराक संयुक्तराज्य अमेरिकाकै एउटा राज्य हो ।”

ट्रम्पले इराकका कुनै पनि उच्च अधिकारीसँग भेटघाट गर्नु भएन । तर उहाँले इराकी प्रधानमन्त्री अदेल अब्दुल–महादीसँग अन्तिम समयमा फोनमा कुरा गर्नुभएको थियो । इराकी प्रधानमन्त्रीको कार्यालयले दुई नेताबीचको भेटघाट भेट्ने ठाउँका बारेमा विमति रहेका कारण अन्तिम समयमा रद्द गरिएको जनाएको छ ।

इराकको संसदले इराकबाट अमेरिकी सैनिक फिर्ता गर्ने प्रस्ताव पारित गर्ने बारेमा पटकपटक छलफल गरेपनि निष्कर्षमा पुग्न सकेको छैन ।

याे पनि पढ्नुस  कार्यकालको एक चौथाई गोल्फ खेलेर बिताए राष्ट्रपति ट्रम्पले

बग्दादबाट करिब १०० किलोमिटर पश्चिमको हवाई अखडामा तीन घण्टा बिताउनुभएका राष्ट्रपति ट्रम्पले इराकमा तैनाथ करिब पाँच हजार २०० अमेरिकी सैनिक स्वदेश फिर्ता गर्ने कुनै योजना नरहेको बताउनुभएको थियो । उहाँले ऐन अल–असद हवाई अखडालाई आवश्यक परेको खण्डमा सिरियाभित्र हवाई आक्रमण गर्न प्रयोग गरिने बताउनुभयो ।

“रुसी वा इरानी मामिलामा अमेरिकी स्वार्थलाई भरथेग गर्न इराकलाई प्लेटफर्मका रुपमा प्रयोग गरिनु हुन्न,” संसदमा अल–सैदी इस्लाह समूहका वरिष्ट सांसद हकिम अल–जामिलीले बताउनुभयो ।

इस्लामिक स्टेट समूह विरुद्धको गठबन्धनकै एक हिस्साका रुपमा अमेरिकी सैनिकहरु इराकमा तैनाथ छन् । अमेरिकी सैनिकहरु सन् २०११ मा इराकबाट फिर्ता भएका थिए तर इराक सरकारको आमन्त्रणमा जिहादी समूहसँगको लडाइँमा मद्दत गर्न सन् २०१४ मा पुनः इराक फर्किएका थिए । एजेन्सी

कमेन्ट गर्नुहोस्