गजलकृति ‘निर्बन्ध आकाश’माथि अन्तरक्रिया सम्पन्न

झापा, पुस १४ । गजलकार भोजराज घिमिरेको छन्द/बहरबद्ध गजलकृति “निर्बन्ध आकाश”माथि अन्तर्क्रिया सम्पन्न भएको छ ।

झापाको दमकमा आयोजित अन्तर्क्रियामा युवागजलकार सुरेश सुवेदीले घिमिरेका गजलमा लय पक्ष अत्यन्त सशक्त भएको तर शिल्प पक्षमा परिष्कार गर्नुपर्ने धारणा राखे । उक्त कृति प्रयोगका रूपमा पनि लेखिएको बताउँदै सुवेदीले अवकाशपछिको जीवनमा छन्द/बहर जस्तो जटिल विषयमा अध्ययन गरेर सिर्जना गर्नु साँच्चै अनौठो भएको धारणा राखे।

अर्का टिप्पणीकर्ता कवि, समालोचक शिव प्रणतले घिमिरेले आफूलाई गजलमै समर्पित गरिरहेका र गजलप्रतिको उनको लगाव लोभलाग्दो रहेको बताए। गजल आफैँमा जटिल विधा भएको र त्यसमाथि छन्द/बहरमा लेख्नु कठिन हुने भन्दै प्रणतले यस्तो कार्य साधनाबाट नडराउने मान्छेले मात्र गर्नसक्ने धारणा राखे।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली गजल मंचका अध्यक्ष कवि/समालोचक घनेन्द्र ओझाले उक्त कृति पुराना सर्जकका लागि पाठ र नयाँ सर्जकलाई चुनौती भएको बताए। साधना र अध्ययन स्रष्टाका लागि अनिवार्य र अपरिहार्य कुरा रहेका भन्दै ओझाले उक्त कृतिका लागि घिमिरेलाई बधाई पनि दिए।

प्रमुख अतिथि डा. भीम खतिवडाले घिमिरेले लामो प्रशासनिक जीवन, सामाजिक तथा पारिवारिक जीवनमा भोगेका, देखेका अनुभव र अनुभूतिलाई काव्यात्मक रूपले आफ्ना गजलमा उतारेका बताए। खतिवडाले आगामी दिनमा अझ सशक्त सिर्जना र कृतिको घिमिरेबाट अपेक्षा गरिएको पनि बताए।

दमक क्याम्पस साहित्यिक विद्यार्थी मंच आयोजक रहेको घनश्याम पथिकले स्योजन गरेको उक्त कार्यक्रममा रोहित पराई, सुमन राई, रश्मि असफललगायतले गजलवाचन गरेका थिए।

कमेन्ट गर्नुहोस्