राजधानीमा ‘गालिब उत्सव’ सम्पन्न

काठमाडौँ, पुस १४ । उर्दू एकेडेमी नेपालले उर्दूका सर्वकालिक महान कवि मिर्जा गलिबको २३९ औं जन्मजयन्तीको अवसर पारेर मुशायरा एवं गजल गायनको कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार राजधानीको नयाँ बानेश्वरस्थित कुंज थिएटरमा आयोजित उक्त कार्यक्रमको नाम ‘जश्न-ए-गालिब’ अर्थात गालिबको उत्सव राखिएको थियो ।

दुई चरणमा सम्पन्न उक्त उत्सवको पहिलो चरणमा आयोजित मुशायराको अध्यक्षता उर्दू एकेडेमी नेपालका अध्यक्ष इम्तियाज वफाले गरेका थिए । कार्यक्रमको संचालन प्रसिद्ध उर्दू शायर साकिब हारूनीले गरेका थिए ।

कार्यक्रममा चेतन कार्की, इम्तियाज वफा, साकिब हारूनी, खालिद मोहसिन, उद्योगपति वसन्त चौधरी, डा सनतकुमार वस्ती, शीतल कादम्बिनी, करुण थापा, जमशेद अन्सारी, स्वेता दिप्ती, कलीम अन्जुम, इजहार मिकरानी, साजिदा खान सकिना खान लगायतले आफ्ना रचना पढेका थिए ।

त्यस्तै उत्सवको दोस्रो चरणमा विभिन्न गायकहरूले मिर्जा गालिबका रचनाहरू आआफ्नो स्वरमा गाएर सुनाएका थिए । डा सनतकुमार वस्तीले संचालन गरेको उक्त कार्यक्रममा सङ्गीता प्रधान राणा, शैलेश सिंह, सुशील श्रेष्ठ, मनोहर थपलिया र किरण श्रेष्ठले गालिबका गजल गाएर सुनाएका थिए ।

कार्यक्रममा संगीतकार दीपक जंगम, न्ह्यु बज्राचार्य, साहित्यकार एवं सिनेनिर्माता प्रकाश सायमी, अभिनेत्री गौरी मल्ल लगायत नेपाली साहित्य, संगीत र कला क्षेत्रका थुप्रै हस्तीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहआयोजकका रूपमा महफिल-ए-काव्य उपासना, शुभारम्भ द म्युजिकल जर्नी र लेखन कुंज रहेका थिए ।

कमेन्ट गर्नुहोस्