Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अमर तुम्याहाङको कथा : तिरोहित विश्वास 

[ एक ]

ठूलो तीनतले घर, उत्रै पाली । घर र पाली वारिपरि बार्दली, बार्दलीभरि फूलका गमला । गमलामा थरिथरिका फूलहरू । फूलमाथि लुकामारी खेल्दैछन् माहुरी र पुतलीहरू । घरमुनि बाटो । बाटामुनि बारीका ठूल्ठूला गरा, त्यसपछि खेत, खेत त स–सानो मैदान नै हो । साँच्चि गाउँकै मुटु हो यो खेतवारी । यी बारी र जग्गा अन्नको भकारी नै ठान्छन् गाउँलेहरू । अनि त्यो घर र पाली, स्वर्गको टुक्रा नै हो भन्दा बात नलाग्ला ।

येहाङ र येमा, यही ऐश्वर्यवान् घरबारका मालिक हुन् । उनीहरुको एकजना तन्नेरी छोरो छ–अमुहाङ । अनि कलकलाउँदी इक्साचाहिँ अमुहाङको बहिनी हुन् ।

हेर्दा यो घर सुखको सुन्दर फूलबारी जस्तै छ । यो घरको सम्पन्नता देखेर गाउँलेहरू जीब्रो टोक्छन्, ‘पैसाले पैसा कमाउँदोरै’छ, प्रतिष्ठाले प्रतिष्ठा बढाउँदो रै’छ ।’ साँच्ची उनीहरुसँग के छैन र ! अन्न अन्नभण्डारभरि छ, पैसा पुग्दो छ । काम गर्ने गोठालाखेताला छन्, गाउँलेहरू सघाउपघाउ पनि उसरी नै गरिरहेका छन् । खाँट्टी भन्ने हो त यो घरले सिङ्गो गाउँलाई नै थामेको छ ।

मुक्कुम्लुङ पाठशालाको जेहेन्दार विद्यार्थी हो अमु । ऊ पढाइमा सबैभन्दा क्षमतावान् छ । गुरु र आदरणाीय मानिसहरुलाई आदर गर्ने र आफूभन्दा सानालाई सा¥है माया गर्ने विद्यार्थी भनेर गाउँभरि कहलिएको छ ।
एकदिन, दुई दिन, एकमहिना, दुई महिना हुँदै समय फुत्किरहेको थियो । मुक्कुम्लुङ पाठशालामा एक नयाँ छात्रा आइपुगिन् । अग्ली जिउडालकी, जूनजस्तै ज्वाज्वल्यमान चेहरा, सुडौला नाक र ठूल्ठूला अनि सुन्दरताले भरिएका आँखा । अमुहाङले यस्तो सुन्दरताले भरिएकी छात्रा जीवनमा कहिल्यै देखेको थिएन ।

कथाकार अमर तुम्याहाङ

नुमा खोलापारि तेखादेनकी हुन्, अमु खोलावारि साङसाङदेनको । अमु र नुमा एउटै कक्षामा पढ्ने सहपाठी भएकाले आफूले नजानेका एकअर्कामा सोधासोध गर्ने र सिक्ने सिलसिला चल्दै गयो । नुमा र अमु विस्तारै तन्नेरी र तरुनीमा बदलिए, उनीहरू धाननाचे, एकआपसमा माया बाँडे–एकअर्काका प्रेमी भए, समयसँगै एकबिना अर्का बाँच्नै नसक्ने प्रेमबन्धनमा परे ।

एकदिन छहारीमा बसिरहेको बेला नुमाले अमुतिर फर्केर भनी, ‘नसम्झूँ भन्छु र नि हजुर मात्र मनमा झल्लीझली आउनुहुन्छ, सपनीमा पनि देख्छु हजुरलाई मात्र । हजुरबिना त बाँच्न सक्दिन होला…’

यस्तो कुराले नुमाको प्रेममा डुबिसकेको अमुको पनि मुटु ढुकढुक भयो, नुमासँग छुट्टिनुपर्दा उसको मन कति रुन्छ त्यो त उसको अनुहारमा दुरुस्तै उत्रेको थियो । औँलामा खेलाइरहेको सिन्काले भूइँ कोट्याउँदै सुँक्कसुँक्क अमु बोल्यो, ‘म दुःखी नि त हजुर बिना कहाँ बाँच्न सक्छु र !’

नुमा अनुहार भूइँतिर गाडेर झार चुँडाल्दै सुस्तरी बोली, ‘अमु हामी कुनतकसम्म यसरी सेमेक्वाचरी झैँ एक्लाएक्लै बाँच्ने हो….?’

नुमालाई सुनेर शीर ठाडो पा¥यो अमुले, ढाकाको टोपी दुई हातले मिलायो, ‘बूढापाकाहरू ‘चिहान मिच्ने घर, साइनो थिच्ने विहे’ भन्छन् । त्यसो हो भने अब म बुबाआमालाई हाम्रो विहेको कुरा बिसाउँछु है ।’
‘पक्का हो !’ नुमा खुशीले आँखीभौ उचालेर उन्मुक्त नजरमा मुसुक्क मुस्कुराई ।

[ दुई ]

रातलाई लखेट्दै विस्तारै उषाले पाइला टेक्यो, शुक्रतारा अलपियो । मङ्सिर महिनाको आजको दिन अर्कै छ । आकाशमा बादल छैन, धर्तीमा तुवाँलो छैन, सिङ्गारिएको अमुको घरको पछिल्तिर माथि हिमश्रृङ्खला चाँदी नै हार्नेगरी कञ्चन देखिन्छ । डेरामुनि सुनफूलले लेपन गरिएका लोकन्दीहरु गाउँका तन्नेरीहरूको स्वागत, उठौनीबसौनी, खानपिन अनि धाननाच्न उभिनेवित्तिकै साउँदोपुस्तो पालाम हा कि हा गाउँदै धाननाचको अनन्त फन्को मार्दैछन् । ‘तरुनीबेगरको के तन्नेरी, तन्नेरीविनाको के तरुनी’ भनेको साँच्चै पो हो कि के हो !’ सोरेक्या बूढा दिल्लगी गर्दै डेरायताउता कुदिबस्छ । लोकन्ती तुम्याहाङ्माहरुको भीडमा घुम्टोमा मोहोरिएकी नुमा डेरामुनि बालिएको आगोको धुनि टाढाबाट ताप्दैछिन् । यत्तिकैमा घामले विस्तारै पाइला हाल्छ । घाम फक्ताङलुङ (कुम्भकर्ण), मुक्कुम्लुङ, सिदिङ्बा पर्वतहरू टेक्दै लुङचेलेङ डाँडा हुँदै साङसाङदेन गाउँमा आइपुग्यो ।

एकपल्ट फेरि बन्दुकहरू पड्के, दमाइहरुले सनहाइ र नरसिङ्गा बजाउन थाले, च्याब्रुङ नाच नाच्न थालियो, कामदारीहरु तोङ्बा र थरिथरिका परिकार लिएर डेरामा लोकन्तीहरुलाई टक्राउन आइपुगे । सँगै बुढापाकाहरु बिन्ती बिसाउँदै आइपुगे ः फक्ताङलुङजस्तै महान कुटुम्बहरू ! सेसेलुङजस्तै झलाद्मी कुटुम्बहरू ! भावीले लेखेर, साइनोसम्बन्धले बेरिएर, माछाका भूरा झैँ झुरुप्पै भेलिँदा, हाम्रो हातको मीठोनमिठो टक्रायौँ है !  ए सिस्नुको रुख चढ्न नसकिने, गरिबीलाई लुकाउन नसकिने, हामी निमुखाले साउँदोपुस्तो अभिनन्दन टक्रायौँ है !’  उत्तरमा लोकन्दीसमूहकी मूली बूढीले जवाफ दिइन् ः लाछिएर बाँड्युँला नि, विन्तीले छाड्युँला नि, अभिनन्दन लिन त लायक नभए नि, सम्धीसम्धिनीहरुले यसरी टक्राएको कोसेली देउभोजनसमान पवित्र मानुङ्ला न….।

कलिलो घाम तन्नेरी पुग्दै गयो । गाउँका छरछिमेकी र निम्तालुहरु जम्मा हुँदै गए । च्याब्रुङको घन्केको आवाजले साङसाङदेन गाउँ नै ‘टिनिनि…’ गुञ्जिरह्यो । खानाभान्सा पकाउने काम धमाधम हुँदै थियो । गाउँका तन्नेरीहरू लोकन्दीहरुसँग ख्याली गाउँदै, रेला, हँसिमजाक गर्दै धाननाचिरहेका छन् । गाउँका युवा, बच्चा, बूढाबूढी  आ–आफ्नै हुल बाँधेर बेहुलीको चियो गर्दै डेरामा यताउता गरिरहेका छन् । कतिले त येहाङ र येमाले बुहारीचाहिँ सुनकै पाएछन् भनेको पनि सुनिन्छ । ‘बेहुला र बेहुलीलाई त भावीले साँच्चि नै मिलाइदिएको रैछ, होइन, दुइजनै कति राम्रा राम्री हौ !’ कुरा गर्छन् । आज येहाङ र येमाको समृद्धिले गाउँनै भरिपूर्ण छ ।

इ, अब यत्तिकै बेहुली लुकाउने समय पनि आयो । लोकन्दीहरुले बेहुली नुमालाई लुकाउन पश्चिमपट्टिको याङसिङबुङ डाँडातिर लगे, माइतीहरुले पुनः बन्दुक पड्काउन  तयारी गर्न थाले । लोक्कन्दीहरुले नुमालाई सारी र सुनफूल लगाइदिए, झिलिमिलि टल्कने बर्को ओढाए, बर्कोभित्रकी फूल नुमाको अनुहार सुन्दरताले विछट्टै लिपिएकी देखिन्थ्यो ।

उता बेहुलालाई घोडामाथि राखेर झयाइँझयाइँ च्याब्रुङ बाजासँगै ड्याङ ड्याङ बन्दुक पड्काउँदै बेहुली लिन ल्याइँदैथियो । बेहुलाको पहिरन सेतो वश्त्रजस्तै देखिन्थ्यो, तागा जस्तै पनि देखिन्थ्यो, तर यै हो खुट्याउन  गा¥हो थियो  । उसको शीरमा त टोपी होइन कालिजको सिउर सिउरिएर बनाएको राजाको श्रीपेच पहिराइएको थियो । ठूलो तर सुललित अनुहार, काँक्राजस्तै लाम्चो नाक, फराकिलो निधारमा सेतो अक्षताटिका । जरायोको जस्तो काँध । साँच्ची भने हो भने राजकुमारसमान अमुहाङ । बेहुली लिन बेहुला ल्याउने ताँतीको अघि नौमति बजाउनेहरु, त्यसपछि च्याब्रुङ बजाउनेहरु, तेश्रो पङ्तिमा दायाँ र बायाँ काँसको थालमाथि सेतो अक्षता र फूल, धपधप बलिरहेको दियो बत्ती र फूलको कलश बोकेका दुई जना कन्याहरु । उनीहरुको पछि बेहुलालाई छाता ओढाइरहेको लोकन्दे, लगत्तै बुढापाका, त्यसपछि त आँखाले नभ्याउने आइमाइ, केटाकेटी, युवा युवती, बन्दुकेहरु । सप्पैजनाको अटुन ताँती बेहुली लिन आउँदै थियो ।

त्यो ताँती याङसिङबुङ डाँडामा बेहुली लुकाउने लोकन्दीहरुको समूह छेऊमा पुग्यो, बाजा र च्याब्रुङ बजाउनेहरु एकापट्टि छुट्टिए । बेहुला बेहुली भएको समूहभित्र छि¥यो । त्यसपछि बेहुलाले लोकन्दीले घेरिएकी बेहुली नुमालाई टिका लगाइदियो, नुमाले पनि अमुलाई फूलमाला लगाइदिई, अनि आफ्नो हृदयभित्रको आफ्नो राजकुमारलाई खुट्टामा ढोगी  । गोलाकार उभिएका सप्पैजनाले खुशीयालीमा जयजयकार गरे । बन्दुकहरु पनि त्यसक्षणमा ‘डुङ डुङ’ जोरजोर पड्के, च्याब्रुङ र अरु बाजाहरु ‘टिनिना… टिनिना…’ बजे । यसपछि बेहुली नुमालाई घोडामाथि राखियो, बेहुलीको पछि बेहुलालाई राखियो र जसरी एउटै लयमा नदीमा माछाका भूराले यात्रा तय गर्छन् त्यसरी नै विहे–जन्ती घरतिर अगाडि बढ्यो ।

विवाहका सप्पै रीतहरु सकियो, भोलिपल्ट बेहुलीको घरमा बेहुलाको घरपट्टिबाट लोकन्ती र रीत पु¥याउने जाने दिन थियो । अमुका दौँतरीहरु भरियाका लागि तयार थिए । भरियाहरुको माझबाट नाङजङ बोल्यो, ‘अमु एउटा कुरा सोधुँ ?’

अमु बोल्यो, ‘के कुरा हो ! सोध न ।’ नाङजङलाई चुप लगाउँदै आजिबुङ जेठा बोल्यो, ‘मैले बोकेको सेराङको नाम के हो ?’

अमुले सोझै भन्यो, ‘विवाहको सेराङ ।’

झट्ट माराम जेठाले भन्यो, ‘लु भन साथी, विवाहको सेराङले साटेको के हो ?’

सप्पै लब्राहरु गललल हाँसे, अमुको अनुहार त लाजले लालीगुराँशजस्तै रातो भयो । त्यतिबेलासम्ममा लोक्कन्दीहरु र केही भरिया फुङफुङ गाउँको चौतारामा पुगिसकेको थिए ।

[ तिन ]

येहाङको घर आजकल अघिभन्दा चिरिच्याट्ट देखिन्छ । नदेखियोस् पनि कसरी, नुमाले पहिलो भालेको डाकमै कुचो लगाउँछिन्, आँगन बडार्छिन्, घर लिपपोत गर्छिन्, भाँडाकुडा माझ्छिन् । लुगा धुन्छिन् । सप्पै कामहरु पालैपालो गरिसक्छिन् । येमाले पनि आजकल कामबाट सुविस्ता पाएकी छिन् । घरको गोठाला काक्लिकेले पनि आराम गर्न पाएको छ ।

‘नुमा सा¥है लच्छिनकी रै’छे । कल्ले के खान्छ, के पिउँछ, के दिनुपर्छ, के दिनुपर्दैन, अनि कसरी बोल्नुपर्छ, कसरी बोल्नुहुँदैन सप्पै जान्दछे ।’ येमाले येहाङलाई भन्यो, ‘यस्ती राम्री बुहारी पाएर कति गर्व लागेको छ।’ येहाङले जुँगा मुसार्दै बोल्यो, ‘कस्को बुहारी हो, त्यो पनि सोच न।’

‘बाटो पहिल्याउनु नभुली’ भन्ने उखानजस्तै नुमाले एक्लै घरबार, सुँगुर कुखुरा, गाइबस्तु सप्पै थामेको देखेर गाउँलेहरु अचम्म छन् । सप्पैको मुखमा एउटै कुरा थियो, ‘नामजस्तै साँच्चि नुमा त नुमा (लच्छिन) रै’छिन् ।’
सप्पैले मनपराएको देखेर अमुले नुमालाई अङ्गालो हालेर फुक्र्याउँदे भन्यो, ‘नुमा ! मेरो सौभाग्य तिम्रो लोग्ने हुन पाउनु, म कति खुशी छु ।’ परबाट नाक्लिक्के घाँसको भारी बोकेर आउँदै गरेको देखेर लजाउँदै अमुको हात हटाई नुमाले, ‘हो त नि ! मुखले त भन्नै प¥यो..।’

नाक्लिकेको नाम मात्रै नाक्लिके, मान्छे त खाइलाग्दो । कालो वर्णको भए पनि सुहाउँदिलो । येहाङको घरमा सानो हुँदै आएको काम गर्न । यो घरले नाक्लिकेलाई विश्वास र माया बराबर गरेको छ ।

[ चार ]

विहे भएको पनि चार–पाँच वर्ष भइसक्यो । नुमा कोठामा एक्लै सुँक्सुँकाइरहेकी छिन् । यसरी नुमाको जीवनमा रोदनले छोएको दुई वर्ष हुनलाग्यो । ‘ए बस्नलाई गुँड छैन, उडिजाउँ प्वाँख छैन । आँशुको धारामा बस्ने कतिन्जेल हो !’ नुमा विलौना गर्छिन् ।

भावीको लेखालाई पनि के भन्न सकिन्छ र ? पहिले पहिले सप्पैले मन पराएका नुमाको  आजकल कुरामात्र काट्छन् । बच्ना नजन्माउने, बाँझी, अभागिनी, कुरुप, नानाभाती गाली गर्छन्– नुमालाई ।

आज पनि यसरी नै गाली गरे । विहानै पानी भर्न धारामा जाँदा माथ्लो घरकी नाहाङ्मा र उसकी साथी मिक्कीले उसको बारेमा कुरा लगाइहाले ।

अमु शौचबाट आएर सोध्यो, ‘होइन के भयो ?’

गाउँलेले त कुरा काटे–काटे, अब त हाम्रा आमाबुबाले पनि कुरा काट्न थाले । आज मिक्की र नाहाङ्माले पँधेरामा भनेको अब मेरो सौता हाल्न लगाउने रे तिमीलाई’ आँशु पुछ्दै कुरा खोलिन् नुमाले ।

‘बोल्न देऊ न बोल्नेलाई…’ अमुले भन्यो ।

‘के गर्ने त ? मैले पनि नामिन्ना कामीको छोरोलाई देख्दा हाम्रो पनि सन्तान हुँदा त कति राम्रो हुन्थ्यो जस्तो लाग्छ । तर हाम्रो सन्तान नै….।’ फेरि आँशु झारिन् नुमाले ।

‘सप्पै गर्न जति गरिसकियो । सन्तान माग्न पाथिभरा गयौँ, अम्बेपजम गयौँन कि, कुम्मायाक कुस्सायकको पूजा गरेनौँ कि, कहाँ पुगेनौँ । मन नदुखाऊ तिमी, एकदिन त हाम्रो सन्तान हुन्छ होला नि !’ अमुले श्रीमीतलाई फकायो ।

‘लगनमा त युप्पारुङ दिँदै मुन्धुमको कसम खाए– बुहारी तिमीलाई नराम्री भन्यौँ भने हाम्रो आँखा फुट्ने गरी हिर्काउनु, अनि त्यस्तै के के के के भनेर । तर आज वाचाकसम हरायो ।’ नुमाले सोच्दै गई, ‘वाचा भनेको यस्तै हुन्छ ? मन पर्दा खाने मननपर्दा ओकल्ने ?’

‘छि ः मनमा पनि के के आउँछ आउँछ !’ यसरी सोच्दैबस्दा नामिन्ना कामीको छोरा च्याँच्याँ रोएको सुनी, ‘मेरो पनि बच्चा भए त …’

‘नुमा…’ नुमाको कुम हल्लाउँदै अमुले बोलायो ।

‘के हो…’ नओभाएका आँशु पुछ्दै कपाल बाँधी नुमालो । त्यतिखेर साथी नेभोःन्जीको कुरा झट्ट सम्झना आयो, ‘साँच्ची नेभोन्जीले मलाई भनेकी थिई, ‘बच्चा पाउनु नपाउनुमा त छोरा मान्छेको पो धेरै हात हुन्छ । कि अमु बच्चा नहुने छोरोमान्छे पो हो कि ।’ अमु  सशङ्कित भयो ।

[ पाँच ]

एक दिन, दुई दिन, एक महिना दुई महिना हुँदै फेरि वर्ष दिन बित्यो । दुई तीन वर्षयता तुवाँलोले छोपिएको नुमाको अनुहार आजकल निक्कै उज्यालिएको छ । अमुले उज्यालो अनुहार देखेर नुमालाई जिस्क्यायो, ‘आजकाल आकाश निकै खुलेको छ । घाम पो लाग्छ कि ’ नुमाले अनुहार झन् उज्यालो पारेर जवाफ फर्काइन्, ‘कति झरीमात्र परोस् त ! मन भए उपाय छ भन्छन् । उज्यालो मनले चेहरा उज्यालिएको नि त ।’

आजभोलि नुमाको अनुहारमा हल्कापन र ठूलो सन्तुष्टि देखिन्छ । सबैसँग एकदम हाँसिखुशी छे । यी सबै उसका व्यबहारमा प्रकट हुन्छन् । पहिलेको जस्तै काममा स्फूर्तता ल्याउन थालेकी छिन् । त्यतिमात्र होइन, फरासिली पनि भएकी छिन् । यो देखेर सासुससुरा सप्पै छक्क परेका छन् ।

नुमाको खुशीयालीसँगै अर्काे कुरा पनि देखिन थालेको छ, त्यो हो काक्लिके सधैँको जस्तो बोल्न छोडेको छ । ऊ त नुमाको अघि नै पर्न छोडेको छ । घरको माथिल्लो तलामा चढ्दै चढ्दैन, मुनि मात्र बस्छ ।

आज नुमा गर्भवती भएको एक महिना पुगेर दस दिन पुग्यो । उसको पाठेघरमा भ्रुण बसेजस्तो छ । आज त झन् नुमाको खुशीको सीमा नै छैन ।

समसाँझमै नुमाले मज्जाले खाना बनाइन्, सप्पै कामधन्दा एकशासमा गरिसकिन् । घरमा सबैजना जम्मा भए । येमाले नुमालाई अ¥हाइन्, ‘खाना पस्क ।’ नुमाले खाना पस्किदिइन् सबैजनालाई । भाँडाकुँडा धोइपखाली सकिन्, कुचो लगाइन्, भोलिपल्टका लागि खरानीमा अगुल्टा घुसारेर चुल्होमा आगोको जगेडा गरिन् । यो बेलासम्ममा सप्पैजना आ–आफ्ना विस्तारामा सुत्न पुगिसकेका थिए ।

नुमा अमु र आफ्नो ओछ्यानमा पुगेर अमुलाई भन्यो, ‘सुन न, एउटा कुरा भनुँ ?’
पुस्तक पढिरहेको अमुको आँखा पुस्तकमै एकाग्र थियो, ‘भन…’ ‘अहँ, भन्दिन, तिमी मतिर हेर्दैहेर्दैनौ ।’ नुमा अर्कोपट्टि फर्की ।

पुस्तक बन्द गर्दै अमु बोल्यो, ‘नरिसाउ न’ अमुले नुमाको अनुहारमा आफ्नो अनुहार खप्टायो ।
लजाउँदै नुमा बोलिन्, ‘नाइ भन्दिनँ…।’

‘नभन्ने भए म पनि तिमीसँग बोल्दिनँ ।’ अमुले घुर्की देखायो ।

त्यसपछि नुमाले बल्ल कुरा खोलिन्, ‘अब तिमी बुबा हुँदैछौ ।’

‘कसो रे ! म बुबा हुँदैछु ?’ खुशीले थामिनै नसकी बोल्यो अमु, ‘कसरी पो नुमा !’

नुमाले जिब्रोको टुप्पाबाट फुत्किन आँटेको कुरा फुत्काइहाली, ‘म गर्भवती भएको एक महिना र दसदिन पुग्यो । सधैँ त महिनादिनमा मेरो महिनावारी हुन्थ्यो, कसम होला म आमा हुँदैछु ।’

दुवैजना असीम खुशीले पुरिए । त्यतिकै त्यतिकै भुसुक्कै निदाइगए ।

**********************

पूर्वी आकाशमा शुक्रतारा उदायो । नीलो आकाशमा ताराहरु अस्ताएका थिएनन् । परेवाहरु घुर्रर्घुर घुरघुराउँदै गीत गाइरहेका थिए । फेरि भाले दुई पटक बास्यो । भाले बासेको आवाज र परेवाको गीतले नुमा ब्यूँझी । यसो कोल्टे फेरि । नुमालाई एक्कासि सारी चिसो चिसो भएजस्तो भयो । यसो छोएको त साँच्चै फेरि महिनावारी भएछ । विश्वास नै गर्न सकिनन् नुमाले । उनको मनमा भूइँचालो गयो । नुमाको आमा हुने स्वप्न महिनावारिसँगै तुहिएर गयो । आँखामा अन्धकार छायो । चिच्याइन्, ‘नाइ….के हो…’ बच्चा पाउनै पर्ने बाध्यताले अमुको विश्वासलाई आगो लगाएर खेतको गोठमा नाक्लिकेसँग लुकीछिपी यौनसंसर्ग गरेको घटनालाई सम्झि र एकोहोरो रुन थालिन् ।

नुमाका रुवाइले अमु ब्यूँझियो । नुमालाई सम्हाल्दै सोध्यो, किन रुँदैछौ, के भयो र ??’

नुमा नाजवाफ भइन् । आमा हुने रहरले नाक्लिेकसँग कूकर्म गरेको घटना सम्झिदै आफ्नो तिघ्रा हिर्काउँदै अचाक्ली रोइमात्र रही । नुमाको रुवाइले परेवाहरुको गीत बन्द भयो । घरका अरु मानिसहरुको निद्रा पनि भङ्ग भयो ।

‘खेतको घटना थाहा पाएर अमुले नुमालाई चुटेजस्तो छ, मैले गर्दा मात्र होइन क्यारे, उसले नै अँठ्याएर त्यस्तो भएको हो, तर पनि…।’ डरले नाक्लिकेको हंश उडिसकेको थियो । डरले ऊ घरबाट टाप दिन खोज्दैछ । यता नुमा आफू कि अमु हो निःसन्तानका जिम्मेदार, छुट्याउनै असमर्थ छे ।

यसबेलासम्ममा घरका सप्पैजना नुमाको अघि जम्मा भइसकेका थिए । हुँ कि हुँ रुँदै नुमा यसपल्टचाहिँ बोलिन् ‘हाम्रो प्रेमसंसारमा मैले नै आगो लगाएछु । अब कहाँ मरिजाऊँ म…’ अमु, आमा, बुबा, इक्सा कसैलाई पनि गाँठी कुरा थाहा थिएन तर नुमा चाहिँ झन् झन् डाँको छोडेर रोई रहेकी थिइन् ।

(लिम्बू कथा संग्रह “लेमेबा नसान याक्थुङ” कथाबाट स्व.स्वप्निल स्मृतिद्वारा अनूदित)

साहित्य संग्रहबाट साभार

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: