नेपाललाई ‘स्याटेलाइट’ सेवा दिन भारत र चीनबीच प्रतिस्पर्धा

काठमाडौं, पुष १४ । अन्य क्षेत्रमा जस्तै चीन र भारत नेपाललाई भू-उपग्रह अर्थात् ‘स्याटेलाइट’ सम्बन्धी सेवाहरू प्रदान गर्ने मामिलामा समेत प्रतिस्पर्धामा उत्रिन थालेका छन्।

पछिल्लो समयमा दुवै मुलुकले नेपाललाई ‘स्याटेलाइट’ सेवा प्रदान गर्न देखाएको चासो र सहायतालाई सचेत रूपमा हेर्नुपर्ने कतिपय विज्ञहरूको ठम्याइ छ।नेपाललाई आफ्नो प्रभाव बाहिर जान नदिन दुवै मुलुकले पूर्वाधार निर्माणदेखि जनशक्ति विकाससम्ममा प्रतिस्पर्धा गरिरहेको ठान्ने गरिन्छ।

नेपाल सहित दक्षिण एसियाका सातवटा मुलुकले प्रयोग गर्न सक्ने गरि आफूले अन्तरिक्षमा राखेको स्याटेलाइटको केही भाग नेपाललाई दिन भारत सहमत भइसकेको छ।

चीनसँग सम्झौता
हालसालै चीनले पनि उसको एउटा स्याटेलाइटबाट लिइने नेपालका भौगोलिक नक्साहरू पाँच वर्षसम्म सित्तैमा उपलब्ध गराउने सम्झौता गरेको छ। उक्त सम्झौताअनुसार नेपालले आफूलाई आवश्यक परेको क्षेत्रको भू-उपग्रह चित्र खिचिदिन चीनलाई आग्रह समेत गर्न सक्नेछ।

चीनसँग भएको सम्झौता भारतसँगको जस्तो स्याटलाइट प्रयोग गर्न पाउने खालको नभए पनि त्यसको रणनीतिक महत्त्व रहेको कतिपयको बुझाइ छ।अधिकारीहरूका अनुसार भारतले डेढ वर्षअघि अन्तरिक्षमा राखेको स्याटेलाइटको केही भाग नेपाललाई प्रयोग गर्न दिने गरि पत्राचार गरिसकेको छ।

भारतको प्रस्ताव
तर, नेपालले हालसम्म उक्त स्याटेलाइटको प्रयोग कसरी गर्ने भन्ने तय गर्न नसकेको अधिकारीहरू बताउँछन्। ‘हामीले ३६ मेगाहर्जको ट्रान्सपोन्डर प्रयोग गर्न पाउने छौँ तर त्यसको कसरी प्रयोग गर्ने भन्ने प्रणाली विकास हुने क्रममा रहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको फ्रिक्वेन्सी व्यवस्थापन शाखाका प्रमुख अनुप नेपालले भने, चाँडै नै हामी प्रणाली विकास गरेर त्यसको प्रयोग गर्नेछौँ।’

विपद्का बेला आकस्मिक सञ्चारको व्यवस्थापन र मौसम सम्बन्धी जानकारी आदानप्रदान गर्न उक्त स्याटेलाइट प्रयोग गर्ने तयारी भइरहेको उनले जानकारी दिए। नेपालले हालसम्म उक्त स्याटेलाइट प्रयोग गर्नका लागि ‘ग्राउन्ड स्टेसन’ बनाउन पहल नै नगरेकाले अझै केही समय लाग्नसक्ने अधिकारीहरूको अनुमान छ। बीबीसी नेपालीबाट

कमेन्ट गर्नुहोस्