जेलबाट छुटेपछि हेलिकप्टर चढेरै गाउँ पुगे मेयर, स्वागतमा स्कुल नै विदा

गौर, पुष १४ । हत्या अभियोगमा जेलमै रहेका रौतहट कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहलाई सर्वोच्च अदालतले सफाइ दिएपछि उनी हेलिकप्टर चढेर रौतहट आइपुगेका छन् ।

गत बैसाखदेखि जेल परेका मेयर कुश्वाहलाई सर्वोच्च अदालतले शुक्रबार निर्दोष सावित गर्दै रिहा गरेको हो । शनिबार दिउसो उनी हेलिकप्टर चढेर आफ्नो नगरपालिका कटहरिया आइपुगेका हुन् ।

दिउसो करिव दुई बजे कटहरियास्थित जनता माविको प्रागणमा उनी हेलिकप्टरबाट उत्रिएका थिए । मेयर कुश्वाह आउने सुचना पाएका स्थानीय तथा उनका शुभ चिन्तकहरु बिहानैदेखि बिद्यालयको चौरमा जम्मा थिए ।

मेयर कुश्वाहलाई सयौं स्थानीय तथा कार्यकर्ताले स्वागत तथा सम्मान गरे । कटहरिया बजारपछि जुगौलियामा पनि कुश्वाहलाई स्वागत तथा सम्मान गरियो । न्यायको जीत भएको, कटहरिया नगरको विकासको जीत भएको प्रतिक्रिया दिँदै कुश्वाहले प्रतिक्रियावादीहरुले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाए । अन्नपूर्ण पोस्ट्बाट साभार

कमेन्ट गर्नुहोस्