ढुक्क हुनुस्, अनुभूति गर्ने गरी सरकारले काम गर्छः नेता श्रेष्ठ

गोरखा, पुष १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सबै जनताले अनुभूति गर्ने गरी विकास र समृद्धिको दिशामा सरकारले काम गरिरहेको दाबी गरेका छन् ।

गोरखाको बारपाकमा आज प्रभु बैंकको शाखा कार्यालयको उद्घाटन कार्यक्रममा नेता श्रेष्ठले भने, “सङ्घीय सरकार बनेको नौ महिना मात्र भएको छ, अहिले नै सरकारले काम गर्न सकेन भन्नु गलत हो ।” शिक्षा, स्वस्थ, रोजगारी, खाद्यान्न र आवासको समस्याबाट कोही पनि पीडित हुन नपर्ने गरी विकसित नेपालको निर्माणका लागि सरकार लागि परेको उनले बताए ।

“विकास र समृद्धिको प्रतिफल आम जनताले आफ्नै पोल्टामा अनुभूति गर्ने गरी परिवर्तन आवश्यक छ”, उनले भने, “तर त्यसका लागि केही समय लाग्छ ।”

वर्तमान सरकारले सबैखालका विदेशी हस्तक्षेपलाई बन्द गरी आफ्नो भाग्य र भविस्य निर्माणका लागि आफैँ निर्णय गर्ने हैसियतमा नेपाली जनतालाई पुर्याएको नेता श्रेष्ठको भनाइ छ ।

“विदेशीसँग सहयोग लिन्छौं, मित्रता कायम गर्छौं तर हस्तक्षेप स्वीकार गर्दैनौं भन्ने एउटा नीति लागू भएको छ, यो सरकारले गरेको सबैभन्दा महत्वपूर्ण काम हो”, पार्टीका प्रवक्तासमेत रहेका नेता श्रेष्ठले भने ।

संविधानमा सबै नागरिकका लागि ३१ वटा मौलिक हकको व्यवस्था गरेको भए पनि कानून नबनाई त्यसको कार्यान्वयन सम्भव नभएकाले सरकारले कानून निर्माण गरिसकेको उनले बताए ।

त्यस्तै सरकारले सबै मजदूर तथा श्रमजीवी जनताको जीवनस्तरमा परिवर्तन ल्याउन योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको उनको भनाइ छ । रासस

कमेन्ट गर्नुहोस्