राष्ट्रिय एकता र जनतामा आपसी सद्भाव समृद्ध राष्ट्रको पहिलो सर्त : प्रचण्ड

काठमाडौँ,  पुस १५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सांस्कृतिक विविधता नै नेपालको मौलिकता रहेको बताएका छन्।

गुरुङ समुदायले मनाउने तमु ल्होसारको उपलक्ष्यमा अध्यक्ष दाहालले आज एक शुभकामना सन्देश दिँदै यस सांस्कृतिक पर्वले सम्पूर्ण नेपालीमा सहिष्णुता, भातृत्व, आपसी प्रेम र एकताको भावना विकास गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अध्यक्ष दाहालले मजबुत राष्ट्रिय एकताले नै समृद्ध नेपाल निर्माणको सपना पूरा हुनसक्ने भन्दै राष्ट्रिय एकता र जनतामा आपसी सद्भाव समृद्ध राष्ट्रको पहिलो सर्त भएको बताए । उनले तमु ल्होसारले नेपाली जनसमुदायमा सामाजिक एकता र बन्धुत्वको भावना विकास गर्न सकोस् भन्ने कामना समेत गरेका छन् ।

किन मनाइन्छ तमु ल्होसार ?

तमु अर्थात गुरुङ भाषामा ल्होछार भनिने यस चाडलाई गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने पर्वका रुपमा मनाउने गर्दछन् । गुरुङ  भाषामा ल्होको अर्थ वर्ष र छारको अर्थ नयाँ हो । यसरी  नयाँ वर्षको रूपमा

तमु समुदायमा यस वर्षलाई मृग वर्षको रूपमा मनाइंदैछ । तमु ज्योतिष अनुसार १२ वर्षचक्र अर्थात ल्होकोरमा १२ वर्षलाई विभिन्न पशुपक्षीहरूको नाम दिइएको छ । आज देखि कुकुर वर्ष सिद्धिएर मृग वर्ष सुरु भएको तमु संस्कृतिका जानकारहरू बताउँछन् ।

यस दिन तमुहरू आपासमा शुभकामना आदानप्रदान गर्दै आफूभन्दा ठूला अभिभावक, गुरु र मान्यजनबाट आशीर्वाद थाप्दै रिपु (बेसार रंगाएको पहेंलो धागो) गाँठो पारेर लगाउँछन् । साथै साथीसंगीबीच नाचगान गरी मनोरञ्जन गर्छन् । यस दिनको सांस्कृतिक र धार्मिक महत्व रहेको छ ।

 

कमेन्ट गर्नुहोस्