कप्तान खड्का अस्ट्रेलियामा नानीहरुलाई क्रिकेट सिकाउँदै

काठमाडौं, पुष १५ । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का यतिबेला अस्ट्रेलियामा स्थानिय नेपाली स-साना नानीहरुलाई क्रिकेट सिकाउँन व्यस्त छन्।

एक्सपर्ट एजुकेशन र भिषा सर्भिसेजको आयोजनामा मेलबर्नमा भएको नेपाल फेस्टिबलमा कप्तान पारससहित दीपेन्द्रसिंह ऐरी र सुवास प्रधानले स-साना नानीहरुलाई क्रिकेटको आधारभुत ज्ञान दिएका हुन्।

कार्यक्रममा स्थानिय नेपाली समुदायका मानिशहरुका नानीहरुको उपस्थिति थियो। पारससहितको खेलाडीहरु मेलबर्नसहित सिड्नी र ब्रिसबेनमा हुने कार्यक्रममा सहभागिता जनाउँनेछन्। चारवटै शहरमा नेपाली क्रिकेट खेलको परिचयात्मक कार्यक्रमहरु आयोजना गरिने एक्सपर्टले जनाएको छ।

‘अस्ट्रेलियामा नेप्लिज क्रिकेट ग्रुपसँग अन्तरक्रियात्मक कार्यक्रमहरु हुनेछन्,’ अस्ट्रेलिया भ्रमणबारे पारसले भने, ‘अन्तिम पटक म २०१५ मा अस्ट्रेलिया जादा त्यहाँ निकै राम्रो नेपाली क्रिकेटको माहौल पाएको थिए। केही नेपाली खेलाडीहरु पनि क्लब लेभलमा राम्रो खेलिरहेका छन्।’

अस्ट्रेलियामा नेपाली क्रिकेटरहरुले डिसेम्बर ३० मा मेलबर्न, जनवरी ५–६ तारिखमा सिड्नी, जनवरी १० तारिखमा ब्रिसबेन र जनवरी १२ तारिखमा एडिलेडमा अन्तक्रिर्यात्मक कार्यक्रम गर्नेछन्। अस्ट्रेलियाको राष्ट्रिय खेल क्रिकेट भएकाले त्यहाँको क्रिकेटसँग सम्बन्ध स्थपित गर्नु आफूहरुको उदेश्य रहेको पारसले बताए।

‘अस्ट्रेलियन क्रिकेटसँग दुई चार वर्षयता हाम्रो राम्रो सम्बन्ध पनि छ। माइकल क्लार्कका माध्यमबाट सन्दीप लामिछानेले पनि एक्सोजर पाएका छन्। हामी भ्रमणका क्रममा क्लार्कलाई पनि भेट्ने प्रयास गर्नेछौं,’ अस्ट्रेलिया जानुअघि पारसले भनेका थिए, ‘पोखरा प्रिमियर लिगका बेला पनि हामीले उनलाई बोलाएका थियौं। तर, दुर्भाग्य उनको समय मिलेन्। आशा गरौं, यसपटक उनीसँग भेटेर क्रिकेट अस्ट्रेलियासँग कस्तो सम्बन्ध स्थापित गर्न सकिन्छ भन्नेमा छलफल हुनेछ।’

पारसले भ्रमणबाट अस्ट्रेलियाका क्रिकेट सरोकारवालाहरुबाट नेपाली क्रिकेटलाई हुनसक्ने सहयोग खोजिने आशा व्यक्त गरे। यस्तै उनले त्यहाँका क्लबहरुसँग आगामी दिनमा नेपाली खेलाडीहरुलाई एक्सोजर दिन सकिने विषयमा पनि केन्द्रीत हुने बताए। नेपाल खबरबाट

कमेन्ट गर्नुहोस्