सुदूरपश्चिम र कर्णालीमा ‘पुसे पन्ध्र’ मनाइँदै

धनगढी,  पुस १५ । सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा आज धुमधामका साथ ‘पुसे पन्ध्र’ मनाइँदैछ ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा आजको राति गाउँका सबै मानिस एकै ठाउँ जम्मा भएर रातभर जाग्राम बस्दै विभिन्न लोककथाहरू सुन्ने सुनाउने तथा ‘आइना बातै’ अर्थात गाउँखाने कथा भन्ने चलन रहेको छ ।

यस दिन मिठो मसिनु पकवानका साथै विशेषगरी तरुल, सखरखण्ड, फर्सी, पिँडालुलगायतका कन्दमूल उसिनेर खाने चलन रहेको छ । यी पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने जनविश्वास रहेको छ । ग्रामीण क्षेत्रका बासिन्दा घरमा लगाएको वा जंगलमा पाइने तरुल खनेर उसिनेर खान्छन् भने शहरी क्षेत्रमा आज तरुल किन्नेको घुइँचो लाग्ने गर्छ ।

यसका साथै कतिपय जिल्लाहरूमा यो दिन वनको पूजा गर्ने चलन छ । यो दिन यस क्षेत्रका मानिसले वनजंगलमा काम नगर्ने र बञ्चरो, हँसिया, बनारो, घाँसपात, दाउरा बाँध्ने डोरी आदिको पनि पूजा गर्छन् ।

त्यस्तै कर्णाली प्रदेशका जुम्ला लगायतका जिल्लाहरूमा पनि यस पर्वलाई विशेष महत्वका साथ मनाइन्छ । सुदूरपश्चिम र कर्णालीमा आजको रात सबैभन्दा लामो हुने विश्वास रहेको छ र यस रात जाग्राम बस्नाले आयु लम्बिने समेत जनविश्वास रहेको छ ।

 

कमेन्ट गर्नुहोस्