हात्ती सुन्दरी विजुलीकलीले नै जितिन् फास्ट वाकको उपाधि

चितवन, पुस १५ । चितवन हात्ती महोत्सव अन्तर्गत अन्तर्राष्ट्रिय हात्ती फास्ट वाकको उपाधि विजुलीकलीले हात पारेकी छ ।

हिजोमात्र सम्पन्न हात्ती सुन्दरीको समेत उपाधि जितेकी विजुलीकलीले सौराहा बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधित्व गर्दै निर्धारित १ सय मिटर दुरी २५ सेकेण्डमा पार गर्दै फास्ट वाकको समेत उपाधि हासिल गरेकी हुन् । विजुलीकली क्षेत्रिय होटल संघ सौराहाका पूर्व अध्यक्ष शंकर शैजुको हात्ती हो ।

यस्तै नाटाबाट प्रतिनिधित्व गरेको लक्कीकलीले निर्धारित दुरी २७ सेकेण्डमा पार गर्दै फास्ट वाकको दोश्रो स्थान र मिनिसोबाट प्रतिनिधित्व गरेकी बम्बोजकलीले निर्धारित दुरी २८ सकेण्डमा पार गर्दै तेश्रो भए ।

लक्कीकली चेतनारायण कडेँल र बम्बोजकली गोपीकृष्ण श्रेष्ठको हात्ती हो । ३ चरणमा खेलाई फास्ट वाकमा १५ वटा हात्ती सहभागी भएको नतिजा प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले जानकारी दिए । अहिले हात्ती पालो र फुटबलको फाईनल खेल चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्