काठमाडौंमा चिसो बढ्यो, न्यूनतम तापक्रम १ डिग्री

काठमाडौं, पुष १५ । काठमाडौं उपत्यका चिसो बढेको छ । आज यहाँको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै आइतबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौंको न्यूनतम तापक्रम १।० र अधिकतम १६.८ डिग्री सेल्सियस रहेको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस थियो ।

गत वर्ष डिसेम्बर ३० मा काठमाडौंको न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियस थियो । त्यसैले गत वर्षको तुलनामा यस वर्ष अलि बढी चिसो भएको मौसमविद् राजु प्रधानाङ्गले बताए ।

प्रधानाङ्गका अनुसार अब केही दिन न्यूनतम तापक्रम ० देखि २ को हाराहारीमा रहनेछ । राति आकाश सफा भएकाले बिहान बेलुकी बढी चिसो महसुस गरिएको हो ।

आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । सोमबार देशैभरि मौसम सफा रहने विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्