प्रम अाेलीद्वारा पर्व बिदा पुनरावलोकन गर्ने आश्वासन

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले कटौती भएका विभिन्न समुदायको पर्व बिदा पुनरावलोकन गर्ने आश्वासन दिएका छन् । तमु ल्होछारको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले पर्वमा सार्वजनिक बिदा दिनुपर्नेलगायत जायज माग प्रक्रिया मिलाएर पूरा गर्ने बताए ।

‘मैले तपाईंहरूको भावना र माग बुझें, जायज माग पूरा गर्न पहल गर्नेछु’, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदले गरेको ल्होछार कार्यक्रममा उनले भने, ‘मैले यहाँ घोषणा गर्न मिलेन। प्रक्रियाअनुसार तपाईंहरूको जायज माग पूरा हुन्छ।’

ओलीले प्रक्रिया पूरा गरेर माग सम्बोधन गर्ने आश्वासन दिए। ‘मैले यहीं घोषणा गरें भने फेरि मलाई स्वेच्छाचारी भयो भनिहाल्छन्, म सबै जातजातिका मानिस नेपाली हौं भन्नेमा विश्वास गर्छु, तपाईंहरूको जायज माग पूरा गर्छु’, उनले थपे।

गुरुङ, मगर, राई, लिम्बू, थारू, तामाङलगायत आदिवासी जनजाति तथा मुस्लिम धर्मावलम्बीको प्रमुख चाडमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरी समुदाय विशेषलाई मात्र बिदा दिने गरिएकामा विरोध भइरहेको छ। उनीहरूले पुन: सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन्।

प्रधानमन्त्रीभन्दा अघि स्वागत मन्तव्यका क्रममा छोंज धिं अध्यक्ष रेशम गुरुङले बिदा कटौतीको निर्णय पुनरवलोकन नगरे आन्दोलनमा जाने चेतावनी दिएका थिए। ‘गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ तर गुरुङहरू गण्डकीमा मात्रै छैनन्, प्रधानमन्त्रीकै गृहजिल्ला झापामा पनि छन्। हामी टुँडिखेलमा जम्मा भएर पनि खुसीसाथ ल्होछार मनाउन सकेका छैनौं’, उनले भने, ‘बिदा कटौती गर्ने निर्णयले हाम्रो चित्त दुखेको छ।’

गुरुङ समुदायले पुस १५ लाई नयाँ वर्षको रुपमा मनाउँछन्।विभिन्न पेसा र व्यवसाय गरेर काठमाडौंमा बसोबास गर्नेहरुले टुँ‌डिखेलमा जम्मा भएर ल्होछार मनाउँदै आएका छन्।
– कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्