कादर खानको मृत्युको समाचार झुटो, छोराले गरे पुष्टि

मुम्बई, पुस १६ । प्रसिद्ध बलिउड अभिनेता कादर खानको निधन सम्बन्धी झुटो समाचार ट्विट गरेर आलोचित बनेको अल इण्डिया रेडियोले उक्त समाचार गलत भएको भन्दै माफी मागेको छ । उक्त समाचार भाइरल भएपछि उनका छोरा सरफराज खानले उक्त समाचार ‘हल्ला’ मात्र भएको बताए ।

आइतवार साँझ आएको खानको निधनको समाचार केही घण्टामै सामाजिक संजालमा भाइरल भएको थियो । थुप्रै मानिस अहिले पनि उनको आत्माको चिर शान्तिको कामना गर्दैछन् ।

अल इन्डिया रेडियोले गरेको थियो ट्विट

बयासी वर्षीय बलिउड अभिनेता एवं संवाद लेखक खान प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी डिसअर्डर नामक रोगले ग्रस्त रहेका छन् र हाल उनको क्यानाडामा उपचार भैरहेको छ । यस समय उनको अवस्था निकै गम्भीर रहेको र केही मिडियाहरूले अनुमानकै भरमा उनको निधन भैसकेको समाचार प्रकाशित गरेपछि यो समाचार संसारभर फैलिएको हो ।

भारतको सरकारी संचारमाध्यम अल इण्डिया रेडियोले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट खानको निधनको समाचार लेखेको थियो ।

यस्तो खबर फैलिए पछि खानका छोरा सरफराजले पिटीआईलाई संक्षिप्त अन्तर्वार्ता दिँदै भने, “मेरा पिता अहिले अस्पतालमा हुनुहुन्छ, यो समाचार निराधार हल्ला हो ।’

अस्पताल सूत्रहरूलाई उद्धृत गर्दै भारतीय मिडियाहरूले रोगका कारण खानको मस्तिष्कले काम गर्न छाडेको र उनलाई भेन्टिलेटरमा राखिएको बताएका छन् ।

अल इण्डिया रेडियोले सोमबार अर्को ट्विट गर्दै क्षमा याचना गरेको छ र खानको दिर्घायुको कामना गरेको छ । साथै उसले पुरानो ट्विट हटाएको छ ।

अल इण्डिया रेडियोको ट्विट पछि भारतका वित्तमन्त्री अरुण जेटलीले समेत ट्विट गर्दै खानको आत्माको चिर शान्तिको कामना गरेका थिए ।

उनको मृत्युको अफवाह फैलाइए पछि उनका प्रसंशकहरूले सामाजिक संजालमा क्रुद्ध टिप्पणी गरेका छन् ।

कुनै समय हिन्दी सिनेमामा अभिनय र संवाद लेखनका कारण प्रभाव छोड्न सफल खान लामो समय देखि फिल्महरूमा सक्रिय छैनन् ।

कमेन्ट गर्नुहोस्