कप्तान खड्का भन्छन्, ‘अवसर पाए नेपालमा थुप्रै सन्दीप जन्मने छन्’

अस्ट्रेलिया । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अवसर पाए नेपालबाट थुप्रै सन्दीप लामिछाने जन्मने बताएका छन् । क्रिकेट प्रशिक्षण दिन अस्ट्रेलिया पुगेका कप्तान खड्काले नेपाली क्रिकेट क्षेत्रमा अथाह प्रतिभाहरूले अवसर खोजिरहेको बताए । खड्काले भने, ‘हामीसँग प्रतिभाको कुनै कमी छैन। अवसर पाए थुप्रै सन्दीपहरु अघि आउनेछन्।’

प्रशिक्षणमा खड्कासहित राष्ट्रिय टिमका खेलाडी दीपेन्द्रसिंह ऐरी, यू–१९ राष्ट्रिय टेलीका पूर्व सदस्य सुवास प्रधान, यशवन्त सुवेदी र सुनाम गौतम पनि सहभागी छन् । पारससहितको टोलीले मेलामा सहभागी हुन आएका क्रिकेट प्रेमीहरूलाई प्रशिक्षण दिइरहेका हुन् ।

उनीहरूले अस्ट्रेलियाका चार सहरमा प्रशिक्षण दिने कार्यक्रम रहेकोमा मेलवर्नमा प्रशिक्षण सकिएको छ। यसैगरी पौष २१ र २२ गते सिड्नीमा, २६ गते ब्रिसवेन र २८ गते एडिलेडमा प्रशिक्षण कार्यक्रम हुँदैछ।

‘नेपाली क्रिकेट प्रवर्द्धनमा सँगसँगै’ नारालाई व्यवहारिक कार्यान्वयनका लागि मेला आयोजना गरेको एक्सपर्ट एजुकेशनका जनसम्पर्क व्यवस्थापक सुनोद श्रेष्ठले बताए।

कमेन्ट गर्नुहोस्