बंगलादेशका क्रिकेट कप्तान सांसदमा निर्वाचित

काठमाडौं, पुष १६ । बंगलादेशको एक दिवसीय राष्ट्रिय क्रिकेट टिमका कप्तान मशरफे मुर्ताजा सांसदमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न आम निर्वाचनमा मुर्ताजा प्रधानमन्त्री शेख हसिना वाजेदको अवामी लिग दलबाट सांसदमा निर्वाचित भएका हुन् ।

तीव्र गतिका बलर तथा अलराउन्डर मुर्ताजा नारायल–२ निर्वाचन क्षेत्रमा २ लाख ७१ हजार मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिष्पर्धी उम्मेदवारले ७ हजार ८ सय ८३ मतमात्र पाए।

डिसेम्बर ९ मा वेस्ट इन्डिजविरूद्ध सुरू भएको तीन म्याचको एक दिवसीय सिरिजअघि मुर्ताजाले चुनाव लड्ने घोषणा गरेका थिए। उनले यसअघि नोभेम्बरमा आफूमा सधैं राजनीति गर्ने इच्छा रहेको बताएका थिए।

३५ वर्षीय मुर्ताजा अहिले एक दिवसीय खेलमात्र खेलिरहेका छन् । चोटका कारणले उनले सन् २००९ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए। उनले ३६ टेस्टमा ७८ विकेट लिएका छन्। मुर्ताजाले २०१७मा टि–ट्वान्टी क्रिकेटबाट सन्यास लिएका थिए।

सांसद बन्ने मुर्ताजा बंगालदेशका दोस्रो क्रिकेट कप्तान हुन् । यसअघि नइमुर रहमान दुरजाँय सांसद बनेका थिए । बहालवाला कप्तान सांसद बन्ने मुर्ताजा पहिलो हुन्। सांसद बनेपनि उनले क्रिकेट खेल्ने बताइएको छ । २०१९ को विश्वकपपछि मात्र मुर्ताजाले सन्यास लिने बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन्।

कमेन्ट गर्नुहोस्