हामी मेलमिलाप चाहन्छौं, तर सरकार चाहँदैनः सभापति देउवा

काठमाडौं, पुष १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुले मेलमिलाप चाहे पनि सरकारले नचाहेको आरोप लगाएका छन् । ४३औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काङ्ग्रेस काठमाडौंले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सरकारले राज्यका हरेक निकायमा हस्तक्षेप गर्न खोजेको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री देउवाले भने, “कर्मचारीतन्त्रमा समायोजन अध्यादेशमार्फत हस्तक्षेप भइरहेको छ, त्यसैले कर्मचारी आन्दोलन गर्न बाध्य छन् ।” उनले सरकार राज्यका सबै निकायलाई पार्टीको नियन्त्रणमा ल्याउने र स्वेच्छाचारी रुपमा अघि बढ्ने योजनामा रहेको टिप्पणी पनि गरे ।

उनले भने, “यसपछि क्रमशः प्रहरी, सेनालगायत राज्यका निकायमा पनि हस्तक्षेप हुनेछ, यही नै अधिनायकवाद सोचको शुरुआत हो ।” यसरी हस्तक्षेप बढ्दै गए जनता आन्दोलन गर्न बाध्य हुने सभापति देउवाको भनाइ थियो ।

काङ्ग्रेस सदैव स्वतन्त्र न्यायापालिका, निष्पक्ष कर्मचारीतन्त्र, प्रहरी, सेनाको पक्षमा रहेको उल्लेख गर्दै उनले आफूहरुले प्रतिपक्षीका नाममा अनावश्यक मुठभेड गर्न नचाहेको स्पष्ट पारे ।

बिपीले शुरु गरेको मेलमिलापको नीति सदैव लोकतन्त्रका पक्षमा रहेको तथा परिस्थतिअनुसार मेलमिलापको सान्दर्भिकता हिजो, आज र भोलि पनि रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य नरहरि आचार्यले मुुलुकमा यतिखेर पनि सबै राजनीतिक शक्ति तथा सातै प्रदेशबीच एकता र मेलमिलापको आवश्यकता रहेको धारणा व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्