पार्टी एकताको ‘डाडुपन्यु’ सभापतिको हातमा छः नेता पौडेल

गोरखा, पुष १७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आन्तरिक एकताबद्ध बनाउने कुरा पार्टी सभापतिमा भर पर्ने बताएका छन् । सोमबार नेपाल प्रेस युनियन गोरखाको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उहाँले आफू एकताको लागि प्रतिबद्ध रहेको बताए ।

“म एकताका लागि पूर्ण रुपमा प्रतिबद्ध छु, अब एकतालाई साकार रुप दिने कुरा पार्टी सभापतिमा भरपर्छ”, उनले भने, “पार्टी एकताको डाडुपन्यु पार्टी सभापतिको हातमा छ ।”

सभापति शेरबहादुर देउवाले गर्ने व्यवहारले नै पार्र्टीलाई एकताबद्ध गर्न मद्दत पुग्ने बताउँदै उनले अहिलेसम्म पार्टीलाई एक बनाएर लैजान आफूले निरन्तर पहल गर्दै आइरहेको छ बताए ।

वरिष्ठ नेता पौडेलले सभापतिको पक्षपात पूर्ण व्यवहारका कारण नै पार्टी कमजोर बन्दै गरेको आरोप लगाउँदै ‘पार्र्टीलाई एकताबद्ध बनाउन सहयोगका लागि म जहिले पनि तयार छु, अरु बाँकी काम पार्टी सभापतिको हो’ भने ।

वरिष्ठ नेता पौडेलले लोकतन्त्रमा विकास हुन सक्दैन भन्नु नेकपाभित्र रहेको अलोकतान्त्रिक कुरा हो भन्दै विश्वमा भएका सबै विकास लोकतन्त्रका कारण मात्र सम्भव भएको बताए ।

सरकारको नेतृत्व गरेको दलले सबै अधिकार प्रधानमन्त्रीमा लगेर थुर्पाने कोसिस गरिरहेको आरोप लगाउँदै उनले भने, “जुन प्रणालीले देशलाई अहिलेको स्थितिमा ल्याएको छ, त्यसमा सबै इमान्दार भएर लाग्नुपर्छ ।”

कमेन्ट गर्नुहोस्