काठमाडौं, पुष २५ । नेपाल र जापानबीचको हवाई सम्झौता नवीकरण गर्ने सहमति भएको छ । बुधबार होटल याक एण्ड यतीमा भएको वार्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र जापानी समकक्षी तारो कोनोबीच हवाई सम्झौता नवीकरण गर्ने सहमति भएको हो ।
वार्तामा दुवै देशका परराष्ट्र मन्त्रीहरुले नेतृत्व गरेको प्रतिनिधिमण्डलहरुको सहभागीता रहेको थियो । यो सहमतिले दुई देशबीचको हवाई उडानलाई थप सहज बनाउने बताइएको छ ।
जापानी पक्षबाट नेपालले चाडै नै जापानमा उडान सुरु गरोस् भन्ने चाहना राखेको वार्तामा सहभागी एक परराष्ट्र अधिकारीले बताए।नेपाल र जापानबीच सन् १९९३मा पहिलो पटक हवाई सम्झौता भएको थियो ।
जापानका विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिवसीय औपचारिक भ्रमणका लागि बुधबार अपराह्न काठमाडौमा उत्रिएका हुन्।