रोल्पा, पुष ३० । रोल्पामा यात्रुवाहक जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् ।
सदरमुकाम लिबाङबाट मिरुल टुटु जाँदै गरेको लु १ ज ३३३२ नम्बरको जिप सोमबार दिउसो सडकबाट खोलामा खसेको हो । दुर्घटनामा २१ वर्षीया सञ्जु बुढामगरको मृत्यु भएको हो । घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक छ । निशा रोकामगरकी ९ महिने छोरीको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ ।
परिवर्तन गाउँपालिका उपाध्यक्ष हितकुमारी बुढामगरका अनुसार परिवर्तन गाउँपालिका–१ कुरेली खरिबोटबाट दिउँसो ३ः३० बजेतिर जिप खोलामा खसेको थियो ।
परिवर्तन गाउँपालिका राङसीकी स्थायी बासिन्दा सञ्जु माघे संक्रान्तिको पर्व मनाउन कुरेलीस्थित माइत हिँडेकी थिइन् । घटनामा उनीसँगै जिपमा सवार उनको भाई र बहिनी समेत घाइते भएका छन् ।