मेलम्ची: ठेकेदार नआए बाँकी काम विभाजन गरि अघि बढाइने , २ अर्ब ५० कराेड धराैटी जफत हुने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार ईटालियन कम्पनी सिएमसीलाई अन्तिम ताकेता गरिएपछि सरकारी पक्ष बलियाे बनेकाे छ ।

याे सँगै एशियालि विकास बैंकसँग बाँकी रहेकाे कामलाई विभाजन गरी छिटो सम्पन्न गरिने सहमति भएको छ । मेलम्ची खानेपानी विकास समितिले बाँकी रहेको सुरुङ‘फिनिसिङ, हेडवक्स निर्माण र भेन्टिेलेसन’को कामलाई विभाजनगरी अगाडि बढाउने सहमति एसियाली विकास बैङ्क(एडीबी)सँग गरेको जनाएको हाे ।

ठेकेदार कम्पनीकाे सम्झौता म्याद समाप्त हुन लागेकाे अवस्थामा सरकारले समयमा नै अन्तिम ताकेता पठाएकाे हाे । अब ठेकेदारले काममा नफर्किए उसले सम्झाैता सरकारका कारण भंग भएकाे भन्न पाउने अवस्था छैन । खानेपानी मन्त्री बीना मगरले व्यापक छलफल र भविष्यकाे तयारीका बारेमा समेत ध्यानमा राखि सचेततापुर्वक याे निर्णय गरिएकाे बताइन ।

ठेकेदार नआएकाे अवस्थामा समेत काममा समस्या नहुने मन्त्री मगरकाे दावी छ । यही विषयमा मेलम्चि विकास समिति र एडीबीबीच सम्पन्न सोमबारको बैठकमा कम्पनी नआए बाँकी काम विभाजन गरी अगाडि बढाउने सहमति भएको समितिले जनाएको छ ।

पत्र पठाएको १४ दिनभित्र काममा नआए स्वतः सम्झौता रद्द हुने पत्र पठाइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उहाँका अनुसार १४ दिनभित्र निर्माण कम्पनी काममा नफर्किए ठेक्का रद्द गरिने छ ।

समितिका अनुसार सीएमसीलाई किन ठेक्का रद्द नगर्ने ?भन्दै ठेक्का रद्द गर्नेे जानकारी पठाइएको छ । यसले गर्दा भविष्यमा डिसजन बाेर्ड या अन्य निकायमा उजुरि गर्न सक्ने अवस्था कमजाेर बनेकाे हाे ।

चित्तबुझ्दो जवाफ दिएर काममा नफर्किए ठेक्का सम्झौता रद्द भएको जानकारी गराइने समितिले जनाएको छ । अन्तिम समयसम्म पटक–पटक वार्ताका लागि पहल गर्दा पनि कम्पनी नआएपछि सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढाइएको हो । सीएमसी काममा नफर्किए सीएमसीको दुई अर्ब ५० करोड रुपियाँ धरौटी पनि जफत हुनेछ ।

एक महिनाअघि निर्माण कम्पनीले ठेक्का तोड्ने आशयसहितको पत्र दिएपनि सरकारले बुझको थिएन । कम्पनी आर्थिक सङ्कटमा परेपछि मेलम्चीमा खटिएका कम्पनीका कर्मचारीहरू एक महिनाअघि काम छाडेर स्वदेश फर्किएका थिए । कम्पनी काममा फर्किनुको साटो भुक्तानी गर्न बाँकी रकम, भेरियसनबापतको थप दावी रकम छिटो दिनुपर्ने लगायतका सर्तहरु अगाडि सारिएको थियो ।

झण्डै दुई दशकदेखि भइरहेको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माणमा करिब ९७ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका अधिकारीहरूले बताएका छन्।

सिनियर डिभिजनल इन्जिनियर पन्तका अनुसार २६ किलोमिटर सुरुङ्गमध्ये करिब आठसय ८५ मिटर जति ‘इन्भर्ट कन्क्रिट’को काम, फाइनल सपोर्टको ४१० मिटर काम र दुईवटा भेन्टिलेशन शाफ्टको काम बाँकी छ।

त्यसैगरी सुरुङ्गको दैनिक अनुगमन गर्ने प्रणाली स्थापना गर्न बाँकी रहेको पन्तले बताए।

माथि उल्लेखित काममध्ये अनुगमन प्रणाली स्थापना गर्ने बाहेकका काम नेपाली कम्पनीहरूले गर्न सक्ने आयोजनाका अधिकारीहरूको भनाइ छ।

कमेन्ट गर्नुहोस्