भेनेजुयलाद्वारा अमेरिकासँग कुटनीतिक सम्बन्ध ताेडने घाेषणा, अमेरिकी कुटनीतिज्ञलाई देश छाेडन अादेश

काठमाडौं, माघ ११ । भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोले अमेरिकासँग कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेका छन् ।

अमेरिकारले भेनेजुयलामा सरकारविरुद्धको प्रदर्शनको नेतृत्व गरेका विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछि मडुरोले यस्तो घोषणा गरेका हुन् ।

उनले भेनेजुयलामा रहेका अमेरिकी कूटनीतिज्ञलाई ७२ घन्टाभित्र देश छाड्न आदेशसमेत दिएका छन् ।

तर, अमेरिकाले भने मडुरोलाई पूर्वराष्ट्रपति भन्दै उनीसँग कुनैपनि शक्ति नरहेको जनाएको छ ।

राष्ट्रियसभाका अध्यक्ष रहेका ३५ वर्षीय गोइदो र अमेरिका दुवैले भेनेजुयलाली सेनालाई मडुरोको साथ नदिन आग्रहसमेत गरेका छन् । तर, भेनेजुयलाको रक्षा मन्त्रालयले भने यस्तो आग्रहको निन्दा गरेको छ ।

ब्राजिल, कोलम्बिया, पेरुलगायतका सात दक्षिण अमेरिकी राष्ट्रले अमेरिकी कदमको स्वागत गर्दै गोइदोलाई नै भेनेजुयलाको वैधानिक राष्ट्रपतिकारुपमा समर्थन गरेका छन् ।

क्यानडाले पनि गोइदोलाई समर्थन गरेको छ । तर, युरोपेली युनियनले भने नयाँ निर्वाचन गर्नुपर्ने जनाएको छ ।

यता, मेक्सिको, बोेलिभिया र क्युवाले भने मडुरोलाई समर्थन गरेका छन् ।

बुधबारमात्र नाटकीय घटनाक्रमकाबीच मडुरोविरुद्धको विशाल प्रदर्शनमा गोइदोले आफैंलाई राष्ट्रपति घोषित गरेका थिए ।

केही समययता भेनेजुयला चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । बढ्दो महँगी, खाना र औषधिको अभावमा लाखौं व्यक्ति पलायन भएका छन् ।

यसै महिनाको सुरुमा मडुरोले राष्ट्रपतिकारुपमा आफ्नो दोस्रो कार्यकालको शपथ लिएका थिए । निर्वाचनकाक्रममा उनीमाथि धाँधलीको आरोप लाग्दै आएको छ ।

अमेरिकाले भेनेजुयलामाथि आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्