ओडार भत्कँदा गोठालासहित २ सय भेडाबाख्रा पुरिए, पहिरो पन्छाउन थप सेना पठाइँदै

धादिङ, माघ २३ । धादिङ हिमपहिरोले ओडार भत्कँदा दुई गोठालासहित झन्डै दुई सय भेँडाबाख्रा पुरिएका छन्। जिल्लाको उत्तरी क्षेत्र रुवीभ्याली ४ हिन्दुङमा आइतबार बिहान ओडार भत्किएको हो ।

बिहीबारदेखि परेको भारी हिमपातले गोठ पुरेपछि ४७ वर्षीय नुर्बु तामाङ र उनका १८ वर्षीय साला धनबहादुर तामाङले नजिकैको ओडारमा शरण लिएका थिए । उनीहरु सुतेकै अवस्थामा ओडारसमेत भत्काएको खबरले पैदन ५ घण्टा दूरीको सेर्तुङबाट प्रहरी टोली परिचालन गरिएको थियो ।

हेलिकप्टरसहित अवलोकन गर्न पुगेका सहायक प्रजिअ धोलकराज ढकालले भने, ‘निकै ठूल्ठूला ढुङ्गा आएर ओडार नै पुरेको देखियो । केही थिचिएका बाख्रा बाहिरसम्म देखिन्छन् । उनले ढुङ्गा पन्छाउने अवस्था नरहेकोले थप मद्दतका लागि सदरमुकाम फर्केको बताए ।

ठूला ढुङ्गा हटाउन सक्ने गरी विस्फोटन वा अन्य कुनै विकल्प अपनाउने परे पुनः औजारसहित नेपाली सेनाको टोली तत्काल खटाउने जिल्ला सुरक्षा समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले बताए । उनका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयबारे गृह मन्त्रालयमा पत्राचार भइसकेको छ । कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्