टिप्परको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयले जलाए ११ टिप्पर

विराटनगर, माघ १४ । मोरङको सुन्दर हरैंचा— ९ स्थित सिसौघारीमा टिप्परले ठक्कर दिँदा बालिकाको ज्यान गएको छ । सोमबार विहान विराटचौकबाट– बिराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको ज्यान गएको हो ।

तीव्र गतिमा आइरहेको टिप्परले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ। ठक्कर दिएर भाग्दै गरेको टिप्पर बेलेपुर चौक नजिकै सडक छेउको एउटा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो। दुर्घटनामा परेलगत्तै स्थानीयले सडकमा आउने सबै टिफरमा आगो लगाउन थालेपछि स्थानीय प्रशासनले निषेधआज्ञा जारी गरेको छ।

याे पनि पढ्नुस  पथरीमा स्थानीय प्रदर्शनकारी विरुद्ध प्रहरीको अश्रुग्यास, ३ प्रहरीसहित आधा दर्जन घाइते

मोरङमा प्रमुख जिल्ला अधिकारी रमेश केसीका अनुसार विराटचोक देखि दक्षिण, वेलेपुर उत्तर, सुकुना क्याम्पस पश्चिम बुधबारे पूर्वको भागमा निशेधाज्ञा जारी गरिएको छ। उनका अनुसार सवा ११ बजेदेखि लगाइएको निषेधाज्ञा अर्को आदेश जारी नभएसम्म कायम रहने छ। दुर्घटनापछि आक्रोशित स्थानीयले सडकमा गुडिरहेका अन्य ११ वटा टिपरमा पनि आगो लगाएका छन्।

याे पनि पढ्नुस  बाढी पीडितका लागि ४९९ टहरा निर्माण

दुर्घटना लगत्तै विराटचोक –विराटनगर सडक खण्डको बेलेपुर र सिसौघारीमा स्थानीय बासिन्दाले नाराजुलुस प्रदर्शन गरेका थिए। स्थानीय बासिन्दाले टिप्पर आतंक रोक्नु पर्ने माग गर्दै प्रदर्शन थालेपछि स्थिति असामान्य बनेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्