एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालको शानदार जीत

काठमाडौं, माघ १४ । यूएई विरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ । तेस्रो खेल ४ विकेटले जितेसँगै नेपालले युएईविरूद्धको सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हाे ।

ओडीआई मान्यता पाएको एक वर्ष नपुग्दै नेपालले पहिलो सिरीज जितेको हो। यसअघिको पहिलो सिरिजमा नेदरल्याण्डसँग १-१ को बराबरी खेलेको थियो।

नेपालको जितमा कप्तान पारस खड्का नायक सावित भए। नेपालका लागि पहिलो एक दिवसीय शतक बनाएका खड्काले १०९ बल खेल्दै ११५ रन बनाएका थिए। पारसले ऐतिहासिक उपलब्धि हाँसिल गर्ने क्रममा १३ चौका र १ छक्का प्रहार गरेका थिए।

यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन बनाउँदा सुन्दीप जोराले १९ रन जोडे। एक दिवसीयमा डेब्यू गरेका जोराले २० बल खेल्दै १ छक्का र १ चौका प्रहार गरेका थिए।

यस्तै, रोहित कुमार पौडेलले १६ रन बनाउँदा बिनोद भण्डारीले ९ रन जोडे। दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भएका थिए। यस्तै आरिफ शेखले २१ रन बनाउँदा सोमपाल कामीले २६ रन बनाएर नटआउट रहे।

बलिङमा यूएईका इमरान हैदर र अस्फाक अहेमदले समान दुई-दुई विकेट लिए । यस्तै, मोहम्मद नविद र क्वादर अहमदले समान एकएक विकेट लिन सफल भए ।

अन्तिम सिरिजमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनाएको थियो । उसका लागि सि.पि रिजवानले सर्बाधिक ८७ रन प्रहार गरे ।  बलिङमा नेपालका करण केसी र पारस खड्काले २-२ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेको नाममा १-१ विकेट रह्यो ।

कमेन्ट गर्नुहोस्