अनेरास्ववियु, क्रान्तिकारीका अध्यक्ष तामाङको आरोप- “नेविसंघ स्ववियु निर्वाचनबाट भाग्न खोज्यो”

काठमाडौँ, माघ १५ । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले स्ववियु निर्वाचनमा देशभर नै हार हुने डरले नेविसंघ निर्वाचनबाट भाग्न खोजको आरोप लगाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेकोसक्षत्कार कार्यक्रममा बोल्दै तामाङले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुनुपर्ने बताएका हुन् । उनले भने, “निर्वाचन तोकिएको मितिमै सम्पन्न हुनु पर्छ । विश्विद्यालयले पनि त्यही अनुरुप फागुन १४ गते नै निर्वाचनको मिति तोकेको छ ।”

तामाङले नेविसंघले निर्धारित मितिमा निर्वाचन नगर्नको लागि बहानीबाजी गरिरहको बताए । देशभरिबाट पराजय व्यहोर्नुपर्ने हो कि भन्ने भयबाट नेविसंघले कहीँ न कहीँ त्रसित रहेको आफूहरुले पाएको समेत उनले बताए ।

उनले भने,‘त्यसैले नेविसंघले निर्धारित मितिमा निर्वाचन नगर्न बहानाबाजी गरेको देखिन्छ। तर, म पूर्णरुपमा भन्न चाहन्छु की नेविसंघजस्तो संगठन आफ्नो जिम्मेवारीबाट हट्नु शोभनीय हुँदैन्।’

स्ववियु निर्वाचन निर्धारित मितिमा हुन नसके यो वर्ष निर्वाचन गर्न निकै कठिन हुनेपनि उनले तर्क गरे। अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी मिलेको भय नेविसंघमा देखिएको सुनाउँदै तामाङले भने,”कुनैपनि बहानामा स्ववियुको निर्वाचन स्थगित गर्नुहुँदैन् ।” उनले आफूहरु दुई संगठन मिल्दा डराउने हो भने फागुण १४ गतेसम्म आफूहरु एकता नगर्नपनि तयार रहेको भन्दै व्यंग्य कसे।

कार्यक्रममा नेविसंघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचनमा आफ्नो संगठनको रगतको साइनो भएकोले स्ववियु निर्वाचनबाट नभाग्ने स्पष्ट पारे। उनले भने,”तर सरकारले स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्छ। त्यतातिर सरकारले पर्याप्त ध्यान दिओस्।”

अध्यक्ष महरले स्ववियु विद्यार्थीको साझा मञ्च भएकोले नेविसंघलाई निर्वाचन जित्ने वा हार्ने कुराले कुनै फरक नपार्ने पनि जिकिर गरे। आफ्नो संगठनले एक महिना अघि नै स्ववियु निर्वाचन फागुण १४ गते गर्नेबारे विश्वविद्यालयलाई पत्राचार गरेर सहमति जनाईसकेको पनि महरले जनाए। उनले भने,”अहिलेपनि हामी यो निर्णयमा कायमै छौं ।”

वर्तमान सरकार सबै मोर्चामा असफल भएको आरोप समेत महरले लगाए। उनले भने,”सरकार जनता र विद्यार्थीलाई प्रताडित गरिरहेको अवस्थामा, देशैभरि उपभोग्य वस्तुमा मुल्यवृद्धि भएको बेलामा, हत्या, हिंसा, बलात्कार, माफिया, भ्रष्टाचार र जति नहुनुपर्ने अपराधहरुको संरक्षक स्वयम प्रधानमन्त्री बनिरहेका छन् ।”

कमेन्ट गर्नुहोस्