प्रधानमन्त्री भन्छन्, ‘नेपाल हरेक क्षेत्रमा हरेक दिन आधुनिकतासँगै एक कदम अगाडि बढिरहेको छ’

काठमाडौं, माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताएका छन् । नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन (एचडी) रुपान्तरणको शुभारम्म गर्दै प्रधानमन्त्री ओलीले अब कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार, उर्जा, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा नेपाललाई आधुनिकीकरणमा प्रवेश गराइने पनि बताए । उनले नेपाली र स्वीट्जरल्याण्डका वैज्ञानिक मिलेर सुपर कम्प्युटर बनिसकेको र अरु पनि बन्ने जानकारी दिए ।

उनले भने, ‘नेपाल हरेक क्षेत्रमा हरेक दिन आधुनिकतासँगै एक कदम अगाडि बढिरहेको छ । हासिल गरेका उपलब्धिका जगमा आर्थिक समृद्धि, सुशासन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ अघि बढिरहेका छौँ । हामी सबै आधुनिक नेपालको दौडमा अघि बढ्न सकौँ ।’

नेपाल टेलिभिजन स्थापना हुँदा आफू पञ्चायतविरोधी आन्दोलनका क्रममा पोखरा कारागारमा रहेको स्मरण गर्दै उनले टेलिभिजनको शुरुआतसँगै नेपालमा परिवर्तन र जागरणको युग आरम्भ भएको उल्लेख गरे ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अन्य टेलिभिजनभन्दा नेपाल टेलिभिजनमा केही फरक दायित्व भएको उल्लेख गर्दै यो सरकारी संस्था नभई राष्ट्रको टेलिभिजन, जनताको टेलिभिजन भएको बताए। उनले भने, “नेपाल टेलिभिजनमा कुनै सरकारी हस्तक्षेप छैन । सरकारकै विरोधमा सामग्री प्रसारण हुँदा पनि सरकारले केही भनेको छैन । यो संस्था बनाउने कार्यरत कर्मचारी र पत्रकारको हो । सरकारले सँधै सहयोग गर्दै आएको छ ।”
“नेपाल टेलिभिजनलाई नयाँ प्रविधिमा लान गाह्रो मानेर र त्यसमा निहुँ खोजेर कसको सेवा गर्दैछौँ ? यस टेलिभिजनले अरुसँग प्रतिस्पर्धा गरोस् भन्ने, खेतमा कुटो कोदालो र पानी नदिने अनि मङ्सिरमा धान खोज्ने कसरी सम्भव हुन्छ ?” मन्त्री बाँस्कोटाले आग्रह गरे, “ चारतारे लालतारे बनेर होइन टेलिभिजनको कर्मचारी भएर प्रस्तुत भएर वा मन्त्रीतिर हेरेर होइन प्रतिस्पर्धीलाई हेरेर काम गर्नुस् ।”

मन्त्री बाँस्कोटाले अबको छ महिनापछि सार्वजनिक प्रसारण संस्था ९पिएसबी० मा जानुपर्ने आग्रह गर्नुभयो । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर पिएसबीमा लान कानूनी प्रबन्ध हुन बाँकी छ ।

कमेन्ट गर्नुहोस्