Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नथियाकी लेखिकाविरुद्ध प्रहरीमा उजुरी, लेखिका प्रतिक्षाले लगाइन् आइएनजीओहरूले उचालेको आरोप

काठमाडौं, माघ २३ । उपन्यासकार सरस्वती प्रतीक्षाविरुद्ध वादी समुदायको आत्मसम्मानमा ठेस पुग्ने काम गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । गतवर्ष प्रकाशित प्रतिक्षाको उपन्यास ‘नथिया’मा वादी समुदायका सदस्यहरूको चरित्रहत्या गरेको र जातीय भेदभावलाई समेत प्रश्रय दिएको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा उनीविरुद्ध मुद्दा दायर गरिएको थियो ।

महानगरीय प्रहरी परिसर, टेकुका एक अधिकारीका अनुसार प्रतिक्षाविरुद्ध केही दिनअघि उजुरी परेलगत्तै प्रहरीले उनलाई छलफलका लागि बोलाएको थियो । तर, उनी हालसम्म प्रहरी कार्यालयमा उपस्थित भएकी छैनन् ।

उपन्यासकी एक पात्रसँग नाम मिल्न जाने एक महिलाले दिएको उक्त उजुरीमा भनिएको छ, ‘एक जना/दुई जनाको नाम मिल्नु संयोग होला । तर, ४/५ जनाकै नाम मिल्नु कसरी संयोग हुनसक्छ ? यो उपन्यासले हाम्रो समुदायलाई नै प्रत्यक्ष ठेस पुर्‍याएको छ ।’

उपन्यासले आफू लगायतको चरित्र हत्या गरेको र जातीय भेदभावलाई पनि प्रश्रय दिएको दाबी गर्दै लेखिकामाथि जातीय विभेद तथा छुवाछुत ऐन अन्तरगत कारबाही गर्न माग गरिएको छ ।

उपन्यकार प्रतीक्षाले भने सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एनजीओहरुले समुदायका केही व्यक्तिलाई उचालेर लेखकलाई खेद्न खोजेको आरोप लगाएकी छिन् ।

उनले लेखेकी छन्, ‘पाठकहरुले नै तैंले गलत लेखिस् भनेर किताब अस्वीकार गरे भने लेखक सकिन्छ । होइन भने एउटा एनजीओको केही लाख पैसामा काठमाडौंमा मासुभात खाएर केही सीमित व्यक्तिहरुले हालेको मुद्दा मैले हारे पनि जिते पनि मभित्रको लेखक कहिल्यै डग्मगाउँदैन ।’

उनले आफूले ३० को दशकको कथा लेखको दाबी गर्दै ५० सालमा जन्मेकी युवतीले किताबको पात्रसँग नाम जुधेकाले बेइज्जती भयो भनेर प्रहरीमा उजुरी दिएको पनि उल्लेख गरेकी छन् ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: