जानकी मन्दिर परिसरमा प्रहरी प्रमुख र सिडिओकै अगाडी उत्तेजक नृत्य देखाएपछि…

जनकपुरधाम । जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिरको प्राङ्गणमा सामुदायिक प्रहरी सेवा केन्द्र धनुषाद्वारा गरिएको सांस्कृतिक कार्यक्रममा अश्लिल गीत एवं नृत्य प्रदर्शन गरिएपछि सामाजिक सञ्जालमा कडा आलोचना भईरहेको छ ।

प्रशासनिक अधिकारी एवं राजनीतिकर्मी सहभागी रहेको सो कार्यक्रममा यस प्रकारको गीत नृत्य हुँदा पनि कसैले नरोकेकोमा उनीहरुको पनि आलोचना भईरहेको छ ।

कार्यक्रममा उद्योग वन तथा पर्यटन मन्त्री रामनरेश राय पनि सहभागी थिए । मधेश अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्रले अरुको बिहेमा डिजे बन्द गराउने प्रशासन अचेल जानकी मंदिरको प्रांगणमै अर्धनग्न नृत्यमा रमाएको टिप्पणी गरे ।

आयोजकले सोचेका थिए होला भोजपुरीको ललिपप बोलको गीतले मधेसी र मधेशवाशीलाई खुशी पार्न सकिन्छ तर, प्रभाव उल्टो पर्यो ।

युवा अभियानी दीपक ठाकुरले यस्ता नृत्यले संस्कार विगारेको आरोप लगाएका छन् । उनले ठिप्पणी गर्दै भने ‘जनकपुरधामलाई समाप्त पार्ने छूट कसैलाई छैन ।’
समाजसेवी अमरचन्द्र अनिलले जानकी मन्दिर परिसरलाई धार्मिक बाहेकको कार्यक्रम गर्नमा प्रतिबन्ध लगाउन माग गरेका छन् । उनले धार्मिक स्थलमा अश्लिलता देखाएर जनकपुरधामको छवि विगार्ने काम भएको बताए ।

संयुक्त युवा संघर्ष समितिका संयोजक धर्मेन्द्र साहले पनि जानकी मन्दिर परिसरमा धार्मिक कार्यक्रम बाहेक कुनै कार्यक्रम गर्न नदिन माग गरेका छन् ।
राजपाका केन्द्रिय महासचिव डा. विजयकुमार सिंहले आधुनिकता र विकाको नाउँमा जनकपुरधामको मौलिकता , अस्मिता र पहिचानलाई नष्ट गर्ने षड्यंत्रप्रति गम्भीरता पूर्वक सचेत हुनु आवश्यक रहेको टिप्पणी गरे ।

समारोहमा जिल्ला समन्वय समितिका सभापति रामदेव वनरैत यादव, उपसभापति दीपक झा, प्रदेश प्रहरी कार्यालयक प्रमुख हरि बहादुर पाल, धनुषाका प्रमुख जिल्ला अधिकारी दीपकराज कणेल पनि सहभागि थिए ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

कमेन्ट गर्नुहोस्