Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चार विधेयक विधायन व्यवस्थापन समितिमा

काठमाडौं, माघ २५ । राष्ट्रियसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गरे ।

यसैगरी अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘निवृत्तभरण कोष विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गरे ।

उनले नै ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गरे।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

यसैगरी सभाका सचिव राजेन्द्र फुँयालले सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ लाई प्रतिनिधिसभाबाट पारित भएको जानकारी गराएका थिए ।

सभाको अर्को बैठक माघ २९ गते बिहान ११ बजे बस्ने छ । रासस

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण,
काठमाडौँ, माघ २५ गते । प्रतिनिधिसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद विमला नेपालीले नेपालको संविधानको धारा ४० अन्तर्गत दलितको हक र त्यसैको उपधारा– ५ मा भूमिहीन दलित समुदायलाई एक पटक जमीन उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ, त्यसलाई सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

सांसद महेश बस्नेतले काठमाडौँको वाग्मती लगातयका नदीनालाको सरसफाइ गर्दै प्लास्टिकका कारण झन फोहर बढ्दै गएको सन्दर्भमा त्यसको सही व्यवस्थापन गर्न माग गर्नुुभयो ।

सांसद महेश्वरजङ्ग गहतराजले बाँके जिल्लामा आपराधिक क्रियाकलापमा संलग्न दोषीलाई कारवाही गर्न माग गर्नुभयो ।

सांसद मीना सुब्बाले रोजगारीको सिलसिलामा भारतको राजधानी नयाँदिल्लीमा पुगेका महिलालाई बन्धक बनाएर राखेको भन्दै त्यसबारे चासो देखाउन सरकारसँग अपिल गर्नुभयो ।

सांसद यज्ञबहादुर बोगटीले अछाम जिल्लाको विभिन्न स्थानमा चट्याङका कारण मृत्यु भएका परिवार र घाइतेलाई उचित क्षतिपूर्तिको माग गर्नुभयो ।

सांसद यशोदा सुवेदीले लमजुङको वेँसीशहरबाट मनाङको सदरमुकाम चामेसम्मको सडक खण्ड अन्तर्गत स्यान्तुङ खोलामा ठूला ठूला ढुङ्गा खसेर बाटो अवरुद्ध भएको बारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रङ्गमती शाहीले हुम्ला जिल्लामा समयमा खाद्यान्न नपुग्दा जनता सास्ती खेप्न बाध्य हुनुपरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद राजेन्द्रकुमार केसी र रामबहादुर विष्टले मुलुकको शान्ति, सुरक्षा र बढ्दै गएको भ्रष्टाचार न्यूनीकरणका विषयमा आवश्यक काम गर्न माग गर्नुभयो । रासस

अधिकारी ह्याम्स अस्पतालमा पुनः भर्ना
काठमाडौँ, माघ २५ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई थप उपचारका लागि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको छ ।

उहाँको श्वासप्रश्वासलगायतमा समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिनुभयो ।

गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि मेडिसिटीमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा उपचारमा सुधार नभएपछि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार ह्याम्स अस्पतालमा अधिकारीको डा भगवान कोइराला, डा मनबहादुर केसी र डा अर्जुन कार्कीलगायतका समूहले स्वास्थ्य उपचार गरिरहनुभएको छ ।
८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: