Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भीमदत्त नगरपालिकाका सबै वडामा रोजगार मेला

महेन्द्रनगर, २५ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १९ बागफाँटाबाट रोजगार मेला सुरु गरिएको छ । नगरपालिकाका सबै वडाबाट सञ्चालन हुने मेलाको बागफाँटाबाट उद्घाटन गरिएको छ ।

बागफाँटास्थित वडा नं. १९ को वडा कार्यालयमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले मेला उद्घाटन गरे । सो अवसरमा उनले बागफाँटाबाट सुरु गरिएको रोजगार मेला १९ ओटै वडामा आयोजना गरिने बताए ।

‘आज बागफाँटामा मेला सुरु गरेका छौ, यो १९ ओटै वडामा आयोजना गर्छौ’ उनले भने,‘यसबाट रोजगारीका सम्भावना, श्रम क्षेत्र पहिचान, आर्थिक क्षेत्र, उद्यमशिलता सम्बन्धी जानकारी हुन्छ’ उनले भने ।

नगर प्रमुख विष्टले फागुनदेखि सञ्चालनमा आउने प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सफल बनाउन नगरपालिकाको सिंगो टीम परिचालन हुने बताए ।

‘फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुन गई रहेको छ, त्यो कार्यक्रम सफल बनाउन स्थानीय सरकारको सिंगो टीम नै परिचालन हुन्छ’ उनले भने ।

नगर सबै वडामा मेला आयोजनापछि बेरोजगारको तथ्याङ्क संकलन गरिने र श्रम बजार पहिचान गरी रोजगारीका लागि उत्प्रेरित गरिने नगर प्रमुख विष्टले बताए ।

भीमदत्त नगरपालिका वडा नं. १९ मा पूर्वाधार, शिक्षा, स्वास्थ्य, नदी नियन्त्रण लगायतका समस्या समाधान गर्न नगरपालिका प्रतिवद्ध रहेको उल्लेख गर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित जोडिएको समस्या समाधान गर्न पनि पहल गरिने बताए । शुक्लाफाँटा निकुञ्ज किनारमा पर्ने भएकाले बागफाँटामा होमस्टे सञ्चालन, कोसेली घर सञ्चालन गर्न सकिने बताए ।

नयाँ संचरना अनुसार व्यवस्था गरिएको स्थानीय तहको पहिलो कार्यकाल कानुन निर्माण, कर्मचारी व्यवस्थापन, पूर्वाधार निर्माण लगायतका कार्य गर्न पर्ने उनले बताए । कर्मचारी समायोजन प्रक्रियाको ढिलाईले स्थानीय तहलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दिएका अधिकारमध्ये एकल अधिकार कार्यान्वययन गर्न समस्या देखिएको बताए ।

‘एकल अधिकार नै बाँकी छन्, साझा अधिकारमा त प्रवेश नै गर्न पाएको छैनौ’ उनले भने । भीनपा वडा नं. १९ का वडा अध्यक्ष दामोदर महराको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, वडा जनप्रतिनिधि सहित युवा सहभागी भएका छन् ।

कार्यक्रम भीमदत्त नगरपालिका कार्यालयको रोजगार प्रवद्र्धन तथा गरीबि न्यूनीकरण उप शाखा ( रोजगार सूचना केन्द्र) का मनोज प्रसाद भट्टले सञ्चालन गरेका थिए । कार्यक्रममा रोजगार मेला, रोजागरीका सम्भावना, रोजागर सम्बन्धी सरकारी नीति कार्यक्रम सम्बन्धी जानकारी समावेश गरिएको कार्यपत्र प्रस्तुत गरिएको छ ।

नयाँ संरचना अनुसार रोजगार सूचना केन्द्र स्थानीय तहमा आएको हो । यस अघि सीप विकास तालिम केन्द्र मातहतको केन्द्रले कञ्चनपुरमा ८ हजार ५ सय बेरोजगारको तथ्याङ्क संकलन गरेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: