बंगलादेश प्रिमियर लिगको उपाधि अफ्रिदीको टिमलाई

काठमाडौं, माघ २५ । बंगलादेश प्रिमियर लिग (बीपीएल) को फाइनलमा चर्चित क्रिकेटर शाहिद अफ्रिदी आवद्ध कोमिल्ला भिक्टोरियन्सले ढाका डाइनामाइट्सलाई १७ रनले हराएको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको कोमिल्लाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९९ रन बनायो । तमिम इक्बालले ६१ बलमा नट आउट १४१ रन प्रहार गरे । उनले ११ छक्का र १० चौकाको मद्दतमा सो रन बनाएका हुन् । यस्तै, इमाउल अगले २४ र कप्तान इमरुल काइस (नटआउट) ले १७ रन बनाए ।

ढाका डाइनामाइट्सका बलरहरूमध्ये शकिब अल हसन र रुबेल हुसेनले मात्र एक-एक सफलता हासिल गरे । कोमिल्लाका शमसुर रहमान शाकिबको थ्रोमा रन आउट भएका थिए ।

दुई सय रनको विशाल लक्ष पछ्याउन मैदानमा आएको ढाकाले भने निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८२ रन मात्र बनाउन सक्यो । यसमा रोनी तालुकदारको ६६ र उपुल थरंगाको ४८ रनको योगदान महत्वपूर्ण रह्यो ।

सुरुदेखि नै दबाबमा रहेको ढाकाले पहिलो बलमै विकेट गुमायो । सुनिल नायरायण सैफुद्दीनको थ्रोमा रन आउट भए । त्यसपछि आएका रोनीले थरंगासँग 102 रनको साझेदारी गरे । नवौं ओभरको अन्तिम बलमा थिसरा परेराले थरंगाको विकेट लिए । त्यसपछि आएका कप्तान शकिब अल हसन मात्र ३ रनमा फर्किए । त्यसपछिका ब्याट्सम्यानहरूले पनि संघर्ष जारी राखेपनि विकेट टिकाउन नसक्दा हार व्यहोर्नु पर्यो ।

निकै दबाबमा रहेको ढाकाविरुद्ध बलिङ गर्ने क्रममा वहाव रियाजले ३, मोहम्मद सैफुद्दीन र थिसरा परेराले २-२ विकेट लिए  दुई खेलाडी रन आउट भए । विजेतालाई दुई करोड टाका र उपविजेतालाई ७५ हजार टाका प्रदान गरिएको छ । यो बिपिएलको छैठौं संस्करण हो ।

 

कमेन्ट गर्नुहोस्