Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रधानमन्त्री हुँदा बाबुराम भट्टराई बास बसेको घरको यस्तो अनौठो कथा

हेटौंडा । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा रात बिताएको मकवानपुरको मनहरी–४, ट्वांग्रास्थित बनकरियाको छाप्रोलाई होमस्टेमा रुपान्तरण गरिने भएको छ ।

मनहरी गाउँपालिकाले यसका लागि तयारी थालेको हो । ‘जनताको घरमा प्रधानमन्त्री’ कार्यक्रमअन्तर्गत् तत्कालीन प्रधानमन्त्री डा. भट्टराई सानो सोमलाल बनकरियाको छाप्रोमा एक रात बस्नुभएको थियो । भट्टराई प्रधानमन्त्री हुँदा २०६९ माघ २६ गते तत्कालीन हाँडीखोला गाविसको ट्वांग्रामा रहेको बनकरियाको छाप्रोमा बस्नुभएको थियो । महिनाको एकपटक जनताको घरमा पुगेर बास बस्ने गर्नुभएका तत्कालीन प्रधानमन्त्री डा. भट्टराई ग्रामीण क्षेत्र बनकरियाको छाप्रोमा बस्नुभएको थियो । त्यसबेला डा. भट्टराईले सोमलाललाई दुई वटा ब्ल्याङ्केट र १० हजार रुपियाँ सहयोग प्रदान गर्नुभएको थियो ।

सोही घरलाई होमस्टे बनाउने गरी काम सुरु गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा बनकरिया बस्तीमा होमस्टे लगायत काम गर्ने गरी ५ लाख रुपियाँ बिनियोजन गरिएको छ । सोही रकमबाट उक्त छाप्रोलाई होमस्टेमा रुपान्तरण गरी पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने योजना गाउँपालिकाको छ ।

होमस्टे निर्माणका लागि माया बनकरिया संयोजक रहने गरी होमस्टे व्यबस्थापन समिति गठन गरिएको छ । उपसंयोजक सन्तमाया बनकरिया रहेको समितिमा सदस्यहरु सुन्तली, कान्छीमाया, सानो सोमलाल र धोबे बनकरिया तथा ४ नम्बर वडा अध्यक्ष ध्रुव खड्का संरक्षक हुनुहुन्छ ।
आइतबार होमस्टे निर्माण सम्बन्धमा सरोकारवालासँग छलफल गरिएको छ । छलफलमा गाउँपालिका अध्यक्ष उप्रेती, उपाध्यक्ष मनिला बिष्ट, वडा अध्यक्ष खड्का, समाजसेवी रामहरि बिष्टलगायत उपस्थित हुनुहुन्थ्यो ।

हेटौंडाबाट करिब १५ किलोमिटर दुरीमा पर्ने बनकरियाको घरमा डा. भट्टराई बास बस्नुभएको थियो । डा. भट्टराईले नेपालको मौलिक जातिका रुपमा रहेका बनकरिया समुदायको विकासका लागि सरकारले सेवासुबिधा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको थियो ।

अल्पसंख्यक समुदायको रुपमा रहेका बनकरियाहरु अझै पनि जंगली कन्दमूल खाएर जीविका चलाउने गर्छन् । ताजा तरकारी उत्पादनका लागि देशमै ख्याति कमाएको गाउँमा पुग्नुभएका डा. भट्टराईले लोपोन्मुख विपन्न परिवारले खाने जंगली कन्दमूल खाएर रात बिताउनुभएको थियो । ट्वांग्रा पुग्नुभएका डा. भट्टराईले कन्दमूल गिठ्ठा र भ्याकुरका विभिन्न परिकार चाख्नुभएको थियो ।

आफ्नो पार्टी तत्कालीन एकीकृत माओवादीको हेटौंडामा भएको सातौंं राष्ट्रिय महाधिवेशन टुंग्याएर उक्त गाउँमा माघको चिसो रात करिब साढे सात बजे पुग्दा बनकरिया परिवारले उहाँलाई गिठ्ठाको माला लगाएर न्यानो स्वागत गरेका थिए ।

छाप्रोमा रात बिताउनुभएका उहाँलाई बनकरियाले आफ्नै छाप्रोमा खरानी हालेर उसिनेको गिठ्ठा, भ्याकुरसहित गुन्द्रुकको अचार, ढिंडो, लोकल कुखुराको मासु र सागलाई पातमा राखेर खुवाएका थिए । गिठ्ठा र भ्याकुर त्यस क्षेत्रका हरेक दृष्टिले विपन्न बनकरिया जातिको मौलिक खानेकुराका रुपमा परिचित छ ।
पहाडी ढिस्कोबाट नजिकको नदीउकास क्षेत्रमा बसाईं सरेका १३ घरपरिवारका बृद्धबृद्धा लालाबालासहित जाडो नभनी प्रधानमन्त्रीकहाँ आफ्नो दुःखेसो पोख्न आएका थिए ।

सोमबहादुर बनकरियाले आफूहरुले ६ महिना खानै नपाउने गुनासो पोख्नुभएको थियो । दुई खोलामाझ बस्ती रहेकोले वर्षामा त्रास रहनेप्रति उहाँले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

मासिकरुपमा एउटा गाउँ घुम्ने प्रमको कार्यक्रमअन्तर्गत् पत्नी हिसिला यमीसहित भट्टराई बनकरिया बस्ती पुग्नुभएको थियो । उहाँले स्थानीयसँग करिब डेढ घण्टा भलाकुसारी गर्नुभएको थियो ।

मकवानपुरआसपास बसोबास गर्ने बनकरिया जातिलाई केही समाजशास्त्रीले चेपाङ जातिकै रुपमा हेर्ने गरे पनि २०५९ सालको सूचीकरणले चेपाङभन्दा बनकरियालाई अलग्गै सूचीमा समेटेको छ ।

२०६८ सालको जनगणनामा चेपाङको संख्या ६८ हजार ३ सय ९९ जना देखाइएको भए पनि १ सय २६ जातजातिमध्ये बनकरियालाई गणनामा देखाइएको छैन । तर, नेपालमा १ सय २३ भाषाभाषीमध्ये जनगणनामा बनकरिया भाषीलाई देखाइएको छ ।

जनगणनाअनुसार नेपालमा बनकरिया भाषा बोल्ने ६९ जनामात्र छन् । अविकसित जातिको सूचीमा रहेका बनकरियालाई चेपाङअन्तर्गत् राख्न हुन्छ वा हुँदैन भन्नेमा विवाद छ ।

-नेपाल समाचारपत्रको अनलाईन संस्करणबाट साभार

कमेन्ट गर्नुहोस्

%d bloggers like this: