Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारत-पाकिस्तानको आ-आफ्नै दाबी, आक्रमणको भिडियोको विश्वसनीयतामा समेत प्रश्न

काठमाडौँ, फागुन १४ । भारतले दोस्रो ‘सर्जिकल स्ट्राइक’ भन्ने गरेको मङ्गलबार बिहानको हवाई कारवाहीबारे परस्पर विरोधाभाषी दाबीहरू आएका छन् ।

जहाँ पाकिस्तानले यसलाई मोदीको चुनावी ‘स्टन्ट’ भनेको छ भने भारतले यस कारवाहीमा जैशको शीर्ष कमाण्डर र ट्रेनरसहित साढे तीन सय जना मारिएको र जैशका १३ शिविर ध्वस्त पारेको बताइरहेको छ ।

फरक फरक दाबी 

पाकिस्तानको मिडियाले भारतले कथित रूपमा ध्वस्त पारेको भनेको खैबर पख्तुनख्वा प्रान्तको बालाकोटस्थित जैश-ए-मोहम्मदको शिविर रहेको ठाउँमा कुनै पनि प्रकारको संरचना रहेको इन्कार गरेको छ ।

पाकिस्तानी संचारकर्मीमाझ बोल्दै पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले भारतीय वायु सेनाले कारवाही गरेको ठाउँमा जंगल रहेको र त्यहाँ उक्त आक्रमणबाट रुखहरू मात्र नष्ट भएको बताएका छन् ।

गफूरले विष्फोट भएको ठाउँमा कुनै संरचना नष्ट भएको या कुनै मानवीय हताहतिको प्रमाण नभेटिएको बताएका छन् ।

उनले भारतीय विमानहरूले२१ मिनेट पाकिस्तानी आकाशमा बिताएको भन्नेकुरा झुट्टा भएको भन्दै भारतीय विमानहरूले ३ ठाउँबाट नियन्त्रण रेखा पार गर्ने कोसिस आफूहरूले विफल पारिदिएको तर एक ठाउँमाभने उनीहरू ३ देखि ४ मिनेट पाकिस्तानी आकाशमा रहन सफल भएको बताएका थिए ।

उनले भारतीय विमानहरूलाई २१ मिनेट पाकिस्तानी आकाशमा बिताउन समेत चुनौती दिएका छन ।

उनले भारतले झुटो बोलिरहेको भन्दै आफूहरूले झूटको प्रत्युत्तर सत्यले दिने र यसका लागि आफूहरू सरकारको आदेशको प्रतिक्षामा रहेको बताए ।

सुरुमा पाकिस्तानी मिडियामा भारतीय जहाजहरू पाकिस्तानी सीमाको ३ देखि ४ किलोमिटरभित्र भएको बताएको थियो । तर पछि सामाजिक संजालमा ती जहाजहरू ४० किलोमिटर हवाई दूरीमा रहेको बालकोटमा भएको खुल्न आएको थियो ।

पाकिस्तानी विदेश मन्त्रालयले त्यहाँस्थित कूटनीतिक निकायहरूलाई यस आक्रमणबारे जानकारी दिएको छ । उसले ब्रिटेन, रुस, चीन, अमेरिका, टर्की र इण्डोनेसियाका राजदूतहरूलाई यसबारे जानकारी गराएको हो ।

भारतले भने उसको वायु सेनाले पाकिस्तानी सिमाको ७० किलोमिटरभित्रसम्म उडान गरेर उसकै शब्दमा ‘आतंकवादी’हरूका १३ ठेगानाहरू ध्वस्त पारिदिएको छ ।

भारतले १४ फरवरीमा पुलवामामा भएको आत्मघाती आक्रमणको योजना बालकोटमै बनाइएकाले यस आक्रमणमा उक्त स्थानलाई निसाना बनाएको बताएको छ । साथै भारतले सर्वसाधारणलाई क्षति नपुग्ने गरेर उक्त कारवाही गरेको बताएको छ ।

आक्रमणको दिन समेत पुलवामामा मारिएका सैन्य जवानहरूको तेह्रौं दिनको पुण्यतिथिलाई पारेर चुनिएको बताइएको छ ।

भारतका विदेश सचिव विजय गोखलेले मंगलवार बिहान पत्रकार सम्मेलन गर्दै उक्त खुफिया अभियानबारे जानकारी दिएको छन् ।

उनले भने,”भारत सरकारलाई जैश-ए-मोहम्मदले देशका अन्य भाग्मासमेत आत्मघाती आक्रमण गराउने तयारीमा रहेकोले उक्त कारवाही गर्नु परेको हो ।”

भिडियोको विश्वसनीयतामाथि प्रश्न 

भारतीय संचार मध्यमहरूले उक्त आक्रमणको भिडियो फुटेज प्रसारण गरिरहेका छन् । विभिन्न तीन प्रकारका ती फुटेजहरूको विश्वसनीयताबारे बिबिसीले परीक्षण गरेको छ ।

तर बिबिसीको जाँचमा उक्त भिडियो फुटेज वास्तविक नरहेको भेटिएको छ । सामाजिक संजालमा ह्याशट्याग बालाकोटका साथ भाइरल भइरहेको उक्त भिडियो २०१६ देखि नै सामाजिक संजालमा उपलब्ध रहेको भेटिएको छ । भारतका धेरै समाचार च्यानलहरूले समेत उक्त भिडियो देखाइरहेका छन् ।

उक्त भिडियो १८ सेप्टेम्बर २०१६ मा पाकिस्तानको राजधानी इस्लामाबादको आकाशमा वायुसेनाको गस्तीको रहेको बताइएको छ ।

त्यस्तै मङ्गलबारकै बताइएको अर्को भिडियो पाकिस्तानकै एउटा सामाजिक संजाल प्रयोगकर्ताले २४ फेब्रुअरीको दिन पोस्ट गरेका थिए । उनले त्यसबारे लेख्दै यो कतै भारतीय आक्रमण त होइन भन्दै आशंका व्यक्त गरेका थिए ।

अर्का सामाजिक संजाल प्रयोगकर्ताले भने उक्त भिडियोलाई ‘पाकिस्तानी सेनाको शौर्य’ भन्दै पोस्ट गरेका थिए ।

यस्तै बिबिसीकै शब्दमा भारतका केही दक्षिणपन्थी सामाजिक संजाल प्रयोगकर्ताहरूले बालकोटमा विष्फोट गराउँदाको दृश्य भन्दै शेयर गर्दै गरेको तेस्रो भिडियो ‘आर्मा- टू’ नामक भिडियो गेमको रहेको बताइएको छ ।

उक्त भिडियो २०१५ देखि नै युट्युबमा उपलब्ध रहेको बिबिसीले पत्ता लगाएको छ ।

बालाकोटका स्थानीयहरूले भने बिबिसीलाई आफूहरूले मङ्गलबार सखारै पाँच ठुला विष्फोटको आवाज सुनेको र त्यसले त्यहाँ भुइंचालो आएजस्तै भएको बताएका छन् ।

उनीहरूले आक्रमणमा केही घरहरु ध्वस्त भएको र केही मान्छे समेत मारिएको हुनसक्ने बताएका छन् ।

नेपालमा सरकार मौन, राजपा समर्थनमा  

भारतको यस हवाई आक्रमणबारे नेपाल सरकारको आधिकारिक धारणा अझै आएको छैन तर संसदको तेस्रो ठुलो दल राजपाले भने भारतको समर्थनमा जुलुस निकालेको छ । राजपाले मङ्गलबार दिउँसो बिरगंजमा मोटरसाइकल ऱ्यालीसहित जुलुस निकालेको थियो ।

चिनियाँ अपिल

चिनियाँ विदेश मन्त्रालयले एउटा बयान जारी गर्दै दुबै देशलाई संयम अपनाउन आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु कांगले भारतलाई आतंकवादविरुद्धको युद्धमा अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिन समत अपिल गरेका छन् ।

प्रवक्ता कांगले भारत र पाकिस्तान दुबै दक्षिण एसियाका महत्वपूर्ण देश भएकोले यस क्षेत्रको शान्ति र स्थिरतामा यी दुबैबीचको सौहार्द्र महत्वपूर्ण हुने बताएका छन् ।

उता युरोपेली युनियनले पनि आफूहरूले घटनाक्रमलाई नजिकबाट नियालिरहेको र दुबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेको छ । एजेन्सीको सहयोगमा

कमेन्ट गर्नुहोस्

%d bloggers like this: