Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आफन्तलाई जागिर नदिएको झोकमा उपप्रमुखले तमासा गर्नुभयोः मेयर रेनु दाहाल

चितवन, फागुन १५ । भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीका आफन्तलाई जागिर नदिएको झोँकमा उपप्रमुखले तमासा गर्दै हिँडेको प्रमुख रेनु दाहालले बताएकी छन् । बुधबार भरतपुर महानगरपालिकाले आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मेयर दाहालले यस्तो बताएकी हुन् ।

‘यस भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले काठमाडौंमा पत्रकार सम्मेलन गरी समग्र भरतपुर महानगरपालिका र त्यसको प्रमुख ममाथि कपोलकल्पित आरोप लगाउनु भएको घटनाले मलाई दुःखी बनाएको छ’ महानगर प्रमुख दाहालले भनिन्, ‘उनले भनेजस्तो केके कुरामा अनियमितता भएका हुन् ? तथ्यपरक ढंगले प्रमाणित गर्न चुनौती दिन्छु । उहाँले लगाएका सबै आरोप फगत आरोपका लागि आरोपमात्र हुन् । म उहाँलाई आरोपका लागि आरोप लगाएर समय फाल्नुभन्दा महानगरको समृद्धि र विकासका लागि काम गर्न अनुरोध गर्दछु ।’

उपप्रमुख ठकुरीबाट आफूमाथि लगाइएका सबै आरोप प्रमाणित गर्न उनले चुनौतीसमेत दिएकी छन् । उपप्रमुख ठकुरीले कर्मचारी परिचालनको कुरा गर्नु गलत भएको प्रमुख दाहालको भनाइ छ । ‘महानगरका कर्मचारी प्रमुख वा उपप्रमुखका निजी कर्मचारी होइनन् । नेपाल सरकारका कर्मचारी हुन् । उनीहरु आआफ्नो जिम्मेवारीमा खटिएका छन्’ उनले भनिन्, ‘म भरतपुर महानगरको प्रमुख भएर आइसकेपछि मैले कुनै पनि कर्मचारीलाई भेदभाव गरेको छैन । म उपप्रमुलाई चुनौतीका साथ भन्न चाहन्छु, तपाइँले सक्नुहुन्छ भने एक जनामात्र कर्मचारी मेरो अगाडि उभ्याइदिनुहोस्, जसलाई मैले विभेद गरेको होस् ।’

स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी आवश्यक समितिहरु गठन गरिएको प्रमुख दाहालले बताइन् । ‘मलाई महानगरमा कुनै राजनीति गर्नु छैन । म राजनीति गर्नको लागि आएको पनि होइन’ उनले भनिन्, ‘मेरो एकमात्र उद्देश्य भनेको भरतपुर महानगरको वृहत्तर विकास गरी समृद्ध महानगर बनाउनुमात्र हो । सबै पक्षसँग सहमति र सहकार्यमा अगाडि बढ्नु पर्छ भन्ने मलाई राम्रोसँग थाहा छ ।’

उपप्रमुखलाई कसैले कुनै भेदभाव नगरेको प्रमुख दाहालले बताइन् । ‘उपप्रमुखलाई पदीय मर्यादा कायम गर्दै आफ्नो जिम्मेवारी पूरा गर्न मैले आवश्यक समन्वय गरिरहेकै छु’ उनले भनिन्, ‘यति गर्दागर्दै पनि उहाँ झिनामसिना कुराहरु, व्यक्तिगत लाभहानिका कुराहरु गर्दै हिँड्ने, कार्यपालिका बैठक बहिष्कार गर्ने, पदीय जिम्मेवारीभन्दा बाहिर गएर महानगरकै विरुद्धमा कपोलकल्पित र भ्रमपूर्ण विषयहरु उठाएर पत्रकार सम्मेलन गर्दै हिँड्ने उहाँको व्यवहारले मलाई आजित तुल्याएको छ ।’

उपप्रमुख ठकुरीलाई प्रश्न गर्दै प्रमुख दाहालले भनिन्, ‘के यसरी समस्याको समाधान हुन्छ ? के हामीले लिएको लक्ष्य यसरी हासिल गर्न सकिन्छ ? उहाँले कार्यालयमा नबस्ने, जनताका गुनासाहरु सम्बोधन नगर्ने, पदीय जिम्मेवारीको ख्याल नगर्ने काम तत्काल बन्द गर्नु पर्छ ।’ संवाद र छलफलबाट हरेक समस्याको समाधान गर्न सकिने बताउँदै प्रमुख दाहालले भनिन्, ‘समस्याहरु समाधानसहित आएका हुन्छन् । मैले उहाँलाई तमाम समस्याको समाधान गर्न आउनुहोस् छलफल गरौं भनेर पटकपटक भनेकी छु । यसको उल्टो उहाँ बैठकमा नबस्ने, बाहिर अनर्गल हल्ला गर्दै हिँड्ने गरिरहनु भएको छ । के यो समस्याको समाधान हो ?’

सामाजिक सञ्जालमार्फत् आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै उपप्रमुख ठकुरीले पत्रकारसामु उठाएको विषयबारे महानगर प्रमुख दाहालले भनिन्, ‘उपप्रमुखलाई सामाजिक सञ्जालमार्फत् धम्की आएको कुरा सुनेपछि मैले जिल्लाका सुरक्षा प्रमुखहरु, सरोकारवालाहरुलाई यो गम्भीर विषयको तत्काल छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको थिएँ । त्यसपछि उपप्रमुखलाई धम्की दिने व्यक्ति समातिए । उपप्रमुखकै रोहवरमा जिल्ला प्रहरी कार्यालयमा छलफलपश्चात दोषीलाई एकपटकको लागि माफी दिने उहाँ आफैले सहमति जनाएपछि विषय टुंगिएको छ । यसरी सहमतिमा टुंगिइसकेको विषयलाई उहाँले खेती गर्दै हिँडिरहनु भएको छ । यही हो उहाँको नैतिकता ?’

असमझदारीका विषयहरुलाई एकै ठाउँमा बसेर आपसी छलफलबाट समझदारी कायम गर्न सकिने बताउँदै महानगर प्रमुख दाहालले भनिन्, ‘म उहाँलाई पुनः आह्वान गर्छु, तपाइँले लगाएका सारा आरोपहरु तथ्यपरक ढंगले प्रमाणित गरेर देखाउनु होस् । होइन भने समस्याहरुको समाधान खोज्ने कार्यपालिका बैठक बहिष्कार गर्ने अनि बाहिरबाहिरै अनर्गल प्रचार गर्ने तरिका कुनै पनि हिसाबले ठीक हुन सक्दैन । घरभित्रको समस्या सडकमा फलाकेर तमासा गर्दा समग्र महानगरकै बदनामी भइरहेको छ ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: