संयोगले बाँचे सांसद विजय सुब्बा

काठमाडौं । बुधवार अपरान्ह सांसद विजय सुब्बा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा थिए जब एक्कासि त्यहाँ उपस्थित गृहसचिव प्रेमकुमार राई फोन बोक्दै कोठाबाहिर निस्किए।

कुराकानी सकेर कोठामा फर्कँदै राईले एउटा दु:खद खबर छ भने।

त्यो खबर सुन्नेबित्तिकै त्यहाँ उपस्थित सबैजना आश्चर्यचकित मात्र भएनन् उनीहरू कसैको बोली पनि फुटेन।

त्यसमाथि सांसद सुब्बाले त आफूलाई झनै अचम्मको अवस्थामा पाए।

‘सीट नपुगेर जोगिएँ

सांसद सुब्बाले मन्त्री अधिकारी उनकै जिल्ला तेह्रथुमस्थित चुहानडाँडामा निर्माण गर्न लागिएको विमानस्थलबारे निरीक्षण भ्रमणका लागि बुधवार त्यहाँ जान लागेको सुइँको सोमवार नै पाएका थिए।

“आफ्नै जिल्लामा जान लागेको थाहा पाएपछि मैले पनि जानको निम्ति आफ्नो नाम टिपाएको थिएँ। पछि अब आवश्यक मानिसहरू जानुपर्ने भएकाले सानो हेलिकप्टरमा सिट पुगेन र म गइँनँ,” उनले बीबीसीसँग कुरा गर्दे भने।

त्यसैले उक्त दु:खद खबर सुन्नासाथ सुब्बाको मनमा अनेक कुरा खेल्न थाले।

“पहिलो त आफ्नो साथीभाइको दु:खद खबरले छाँगाबाट खसेकोजस्तै भयो। फेरि, म झन्डै जान आँटेको थिएँ। सञ्जोगले बाँचियो जस्तो लाग्यो। म त्यो अनुभवलाई शब्दमा व्यक्तै गर्न सक्दिनँ।”

मन्त्री अधिकारीको टोली चुहानडाँडाबाट छिमेकी जिल्ला ताप्लेजुङस्थित पाथीभरा भएको थियो।

त्यहाँबाट उडेको केही छिनमै सो हेलिकप्टर दुर्घटनामा पर्‍यो।

दुर्घटनामा परेर मन्त्री अधिकारीसहित सात जनाको मृत्यु भयो।

एक वर्षअघि पनि जोगिएका थिए सुब्बा

सुब्बाको जीवनमा यसरी सञ्जोगले जोगिएको पहिलो घटना भने थिएन।

गत वर्ष निर्वाचन अभियानका बेला एउटा घटनामा पनि आफू सञ्जोगले जोगिएको उनी ठान्दछन् ।
एउटा आमसभामा जाँदै गर्दा उनी चढेको जीपमा उनकै सीटमुनि बम राखिएको रहेछ।

“म अघिल्लो सीटमा थिएँ र मेरै सीटमुनि बम पड्कियो। सो घटनापछि झन्डै आधा घण्टाजति त हामी केही बोल्न सकेनौँ। गाडी काम नलाग्नेगरी बिग्रिएको थियो।”

सांसद सुब्बालाई आफू नै परेको उक्त विस्फोटनको घटनाभन्दा पनि बुधवारको खबरपछि धेरै डर लागेको उनी बताउँछन्।

“त्यतिखेर त ठाउँठाउँमा बम पड्किरहेका थिए। चुनाव बिथोल्ने हिसाबले घटना गराइएको भन्ने दिमागमा आयो। हाम्रो जीपमा पड्काइएको बम पनि अलि सानै प्रकृतिको रहेछ नत्र त मरिहाल्थेँ।”

दुई घटनाले कसरी झक्झकाइदियो

तर त्यतिबेला भन्दा अहिले आफूलाई बढी डर लागेको उनी बताउँछन्।

उनी भन्छन्, “गएको भए त म पनि घटनामा परिहाल्थेँ भन्ने सोच आयो।”

“मानिसको जीवन आज हो कि भोलि हो। बाँचुन्जेल सबैको हित नै गरेर बाँच्नुपर्छ। कसैको हानि नोक्सानी गर्नुहुँदैन। मुलुकको हानि नोक्सानी गर्नु हुँदैन भन्ने मलाई लाग्।”

विजय सुब्बालाई बुधवारको घटनाले जीवनप्रति आफ्नो दृष्टिकोणमा नै केही झक्झकाइदिएजस्तो अनुभव भएको छ।

“बुधवारको घटनापछि त मेरो त्यो दृष्टिकोण थप मजबुत भएको छ। किनभने भरे मरिन्छ कि भोलि मरिन्छ कि वा एकछिनपछि मरिन्छ कि थाहा हुँदैन। त्यसैले यसपछि चाहिँ मलाई अझै धेरै जिम्मेवार नागरिक हुनुपर्छ भन्ने भावना आएको छ।” बीबीसी

कमेन्ट गर्नुहोस्