Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

स्थानीय तहमा ब्रम्हलुटः जनप्रतिनिधिको दैनिक भत्ता १५ हजार!

काठमाडौं, फागुन १९ । महालेखापरीक्षकको कार्यालयले पहिलोपटक सम्पूर्ण स्थानीय सरकारको लेखापरीक्षण गर्दै छ, जसमा अथाह अनियमितता देखिएको छ।

गत वर्ष ६ र ७ वैशाखमा भिटामिन ए क्याप्सुल खुवाउने कार्यक्रम अनुगमन गर्न धनुषाको मिथिला नगरपालिकाबाट मेयर हरिनारायण महतो, उपमेयर ताराकुमारी बस्नेत, वडाध्यक्षलगायत १० जनाको टोली निस्कियो । त्यो अनुगमनका नाममा नगरपालिकाले दुई दिनको भत्तास्वरूप जनही ३० हजार भुक्तानी दियो।

गत आर्थिक वर्ष मात्र यो नगरपालिकाका मेयरसहित सदस्यहरूले गैरकानुनी रूपमा बैठकभत्ता शीर्षकमा २६ लाख २ हजार ३ सय ५० रुपैयाँ बुझेका छन् । महालेखाले गैरकानुनी रूपमा लिएको बैठकभत्ता उनीहरूबाट असुलउपर गर्नुपर्ने बताएको छ।

नगरपालिकाले जिल्लाका नेता सांसद र संघको मन्त्री बनेकामा बधाई दिँदा मात्रै गत वर्ष एक लाख ७१ हजार राज्यकोषबाट खर्च गरेको छ । यसैबीच गत आर्थिक वर्षमा नगरपालिकाले इन्धन शीर्षकमा ८ लाख ५५ हजार ४ सय खर्च गर्‍यो ।

जनप्रतिनिधिका आफन्तका निजी सवारीसाधनमा समेत सरकारी पैसाबाट इन्धन हालियो । तर, इन्धनमा ८ लाख ५५ हजार खर्च भएको बिल नगरपालिकासँग छैन । खाजा र अतिथि सत्कारमा ३७ लाख ९१ हजार ६ सय ३२ रुपैयाँ खर्च गरेको लेखे पनि नगरपालिकाले प्रमाण देखाउन सकेको छैन।

नगरपालिकाले ११ वटा वडालाई प्रशासनिक खर्च शीर्षकमा प्रतिवडा ५ लाखका दरले जम्मा ५५ लाख दियो । त्यो पैसा सीधै वडाध्यक्षले पाए । पहिले नै इन्धनमा ८ लाखको खर्च देखाइसकेको नगरपालिकाले दिएको ५५ लाख पनि वडाध्यक्षको इन्धन, खाजा, स्टेसनरीमा खर्च भएको फर्जी बिल पेस गरेको छ।

महालेखाले यसमा प्रश्न उठाएको छ । महालेखापरीक्षकको कार्यालयले पहिलोपटक सम्पूर्ण स्थानीय सरकारको लेखापरीक्षण गर्दै छ जसमा अथाह अनियमितता देखिएको छ।

सालासाली र श्रीमतीलाई नियुक्ति दिएरसमेत तलब

फुङलिङ नगरपालिका ताप्लेजुङका पदाधिकारी तथा कर्मचारीले प्रदेश कानुनले तोकेभन्दा बैठक, यातायात र भ्रमण खर्चका नाममा १५ लाख बढी रकम लिएका छन् । प्रमाणबिनै योजना अनुगमनका नाममा भुक्तानी लिएका छन् ।

मेयर छत्रपति प्याकुरेलले स्थानीय कुमार मादेनलाई सल्लाहकार नियुक्त गरी गत आर्थिक वर्षमा मात्र तीन लाख भुक्तानी दिलाएका छन् । स्थानीय तहका प्रतिनिधिले स्वीकृत दरबन्दीमा रहेका कर्मचारीलाई मात्र काममा लगाउन पाउँछन् ।

आफूखुुसी नियुक्त गर्न र सुविधा दिन पाउँदैनन् । तर, मेयरले त्यतिमात्र होइन, आफ्नै नीजि घर मर्मतका लागि सरकारी कोषको करिब ९ लाख खर्च गरेको भनेर सरकारी भुक्तानी लिएका छन् ।

निजी घर मर्मतबापत सरकारी बजेट खर्च गरेको विषयमा जिज्ञासा राख्दा मेयर प्याकुरेलले नयाँ पत्रिकासँग भने, ‘ मेरो घरमा त्यस्तो ठूलो मर्मत भएको छैन । मर्मतको नाममा केकति खर्च भयो मलाई थाहा छैन । खासमा नगरपालिकाले मेरो घरको कोठाको माथि प्लाइउड र भुइँमा कार्पेट लगाइदिएको छ । म मेयर सधैँ हुने होइन, मेयरबाट हटेपछि त्यो उप्काएर लान्छन् । त्यसैले अनावश्यक सरकारी खर्च भएको छैन ।’

त्यस्तै, मेयर प्याकुरेलले नै साली मथुरा श्रेष्ठलाई कार्यालय सहयोगी भनेर नियुक्ति दिलाएका छन् । तर, उनलाई घरमा भान्सेको रुपमा काममा लगाएका छन् । नगरपालिकामा उनको हाजिरी समेत छैन । त्यस्तै, सालीको छोरोलाई सहयोगीको रुपमा नियुक्ति दिलाएका छन् । तर उनी इटहरीमा बस्छन् । यो समाचार नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगानासुवास भट्टले लेखेका छन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: