Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

३५ देशमा फेसबुकले कर तिर्छ, नेपालमा फेसबुक किन दर्ता नहुने?

काठमाडौं, फागुन २० । सरकारले सूचना प्रविधिको विकास, प्रवद्र्धन र नियमन गर्न तयार पारेको सूचना प्रविधिसम्बन्धी विधेयक संसद्मा विचाराधीन छ। विधेयकमा साइबर अपराधलाई नियन्त्रणसँगै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउने भन्दै केही प्रावधान राखिएका छन् । तर, त्यस्ता व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने विपक्षी दल तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले आशंका गरेका छन् । प्रस्तावित व्यवस्थाअनुसार सामाजिक सञ्जालमा राख्न नहुने उल्लेख गरिएका सामग्री सरकारले तत्काल हटाउन निर्देशन दिन सक्छ । निर्देशन नमानेमा सञ्चालकलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, हतोत्साही गर्नेलगायत सन्देश सम्प्रेषण गर्दा १५ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्ष कैद सजाय वा दुवै सजाय हुने व्यवस्था प्रस्ताव गरिएको छ ।
यस्तो प्रावधान खतरनाक रहेको सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित अधिवक्ता सन्तोष सिग्देलको भनाइ छ । उनका अनुसार विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई फौजदारी अपराधमा हुने सजायभन्दा कठोर प्रावधान राखिएको छ । त्यस्तै, विधेयकमा सामाजिक सञ्जालहरू नेपालमा सञ्चालन गर्न अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ। दर्ता नभएमा त्यस्ता सामाजिक सञ्जालको प्रयोगमा सरकारले रोक लगाउन सक्नेछ । अधिवक्ता सिग्देलले सामाजिक सञ्जाल दर्तासम्बन्धी व्यवस्था स्पष्ट नभएको बताए ।

यस्तो छ नेपालको संसद्मा पुगेको विधेयक
कुनै सूचना, लिखत, अभिलेख, तथ्यांक, लिखित तथा मुद्रित अवस्थामा भएका अभिलेखले कानुनी मान्यता पाउने व्यवस्था छ । विधेयकमा प्रस्तावित व्यवस्थासहित संसद्ले पारित गरेमा विद्युतीय अभिलेखले समेत कागजी अभिलेखसरह मूल तथा सक्कलका रूपमा कानुनी मान्यता पाउनेछन् । त्यसबाहेक विद्युतीय माध्यमबाट सम्पन्न हुने करारले समेत कानुनी मान्यता पाउनेछ ।

भियतनामले सामाजिक सञ्जाललाई नियमन गर्न १२ जुन २०१८ मा साइबर कानुन पारित गरेको छ । १ जनवरी २०१९ बाट लागू भएको सो कानुनमा फेसबुक, गुगललगायतका सूचना प्रविधिसम्बन्धी कम्पनीहरूका स्थानीय कार्यालयहरू खोल्न र प्रयोगकर्ताका व्यक्तिगत तथ्यांक देशभित्रै राख्नुपर्ने व्यवस्था गरेको छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: