ऐनविपरीत शिक्षकले दिए दोहोरो सुविधा

विराटनगर, फागुन २१ । सुकुना बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीकुमार श्रेष्ठलगायतले शिक्षा ऐनविपरीत दोहोरो पूर्णकालीन सुविधा लिएका छन् । श्रेष्ठ सुकुना माविका पनि प्राचार्य हुन् । उनले दुवै संस्थाबाट तलब लिने गरेका छन् । शिक्षा नियमावलीमा दोहोरो पूर्णकालीन सुविधा लिन पाइँदैन । पञ्चायत मावि गोठगाउँका प्राचार्य गुरुप्रसाद अधिकारी क्याम्पसको अंग्रेजी विभाग र शिक्षा निकेतन माविका प्राचार्य ठाकुर सुवेदी गणित विभाग प्रमुख हुन् । सामुदायिक विद्यालयका स्थायी शिक्षक बलराम पोखरेल, गणेश दाहाल, नारायण गौतम र महेश रेग्मीसहित १९ शिक्षकले यस्तो सुविधा लिएको पाइएको छ ।

उनीहरू पनि सामुदायिक विद्यालयका स्थायी शिक्षक हुन् । बिहान सुकुना क्याम्पसमा पढाउने र दिउँसो दरबन्दीअनुसार सामुदायिक विद्यालय जान्छन् । स्थानीय नागरिक समाज र नियमन निकायले पटकपटक खबरदारी गर्दा पनि दोहोरो सुविधा नछाडेको क्याम्पस स्रोतले बतायो । दुइटै संस्थाबाट सञ्चयकोषमा रकम जम्मा नहुने भएकाले उनीहरूले क्याम्पस तर्फबाट कोषमा कट्टी हुने १० प्रतिशत र राज्यबाट थप हुने पनि तलबमा गाभेर लिने गरेको क्याम्पस स्रोतको दाबी छ ।

नियमविपरीत दोहोरो सुविधा नलिन भन्दा उनीहरूले आफूलाई रोल्पा सरुवा गरिदिने चेतावनी दिएको सुन्दर हरैंचा नगरपालिका शिक्षा शाखा अधिकृत सन्तोष बरालले बताए । विद्यालयतर्फको आउँदो चौमासिक तलबको सूचीमा उनीहरूका नाममा शिक्षा शाखाबाट हस्ताक्षर नगर्ने तयारी गरेको बरालले बताए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: