अस्थायी शिक्षक आन्दोलनले देशभरका सामुदायिक विद्यालय बन्द

काठमाडौ‌ं, फागुन २१ । अस्थायी शिक्षकले जागिरको ग्यारेन्टी हुनुपर्ने माग गर्दै मंगलबार देशभरका सामुदायिक विद्यालय बन्द आह्वान गरेका छन् ।

अस्थायी, राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा देशभरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने घोषणा गरेका हुन् ।

सोमबार काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनका क्रममा शिक्षकले निषेधित क्षेत्र तोड्न लागेपछि प्रहरीले लाठी चार्ज, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । प्रहरी हस्तक्षेपमा परि केही शिक्षक घाइतेसमेत भएका छन् । देशभरिका २७ हजार ८८३ सामुदायिक विद्यालयमा ४० हजार राहत शिक्षक, ३६ हजार बालविकास शिक्षक, १३ हजार अस्थायी करार, १ हजार ५३ स्रोत व्यक्ति र १ हजार ५३ सट्टा शिक्षक छन्।

सरकारले ल्याउन लागेको संघिय शिक्षा ऐनले आफूहरुलाई नसमेटेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

संघीय शिक्षा ऐन कार्यान्वयनमा आउँदा झण्डै डेढ लाख अस्थायी शिक्षक सेवाबाट विमुख हुने अवस्था सिर्जना भएको छ।

सरकारले अस्थायी शिक्षकसँग विभिन्न समयमा गरेको सम्झौता विपरित शिक्षा ऐन ल्याउन लागेको आरोप उनीहरुले लगाएका छन् । नेपालखबरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: