Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उपराष्ट्रपति पुनसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौं, फागुन २२ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि अमेरिकी राजदूत रेण्डी डब्लु बेरीले शिष्टाचार भेट गरेका छन् ।

बुधबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन अमेरिकी राजदूत बेरीले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा उपराष्ट्रपतिले नेपाल र अमेरिकाको सम्बन्ध प्रगाढ रहेको बताए । उनले दुई देशबीचको सम्बन्धलाई अझै घनिष्ट बनाउनुपर्ने बताए ।

उपराष्ट्रपतिले अमेरिकी राजदूतसँगको भेटमा नेपाल राजनीतिक स्थिरता हासिल गरेर विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताए । ‘अबको हाम्रो प्राथमिकता लोकतन्त्रको सुदृढीकरण, आर्थिक सामाजिक रुपान्तरण सहितको विकास र समृद्धि हो’, उनले भने, ‘नेपालको समृद्धिको यात्रामा अमेरिकाको साथ सहयोग रहनेमा विश्वस्त छौँ ।’

उपराष्ट्रपतिले नेपालले विश्वलाई शान्तिको सन्देश दिईरहेको बताए । ‘हामीले नेपालको शान्ति प्रक्रियालाई आफ्नो मौलिकतामा निष्कर्षमा पु¥यायौँ । नेपालको शान्ति प्रक्रियाबाट विश्वले सिक्न सक्छ,’ उहाँले भन्नुभयो, ‘यो गौतम बुद्धको देशको सन्देश पनि हो ।’

उपराष्ट्रपतिले यसै महिनामा आयोजना हुने लगानी सम्मेलन र भ्रमण वर्ष २०२० लाई सफल पार्न अमेरिकाको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । ‘नेपालमा लगानीमैत्री वातावरण बनेको छ । राजनीतिक स्थायित्वसँगै कानून र नियमहरु लगानीमैत्री बनेका छन्,’ उनले भने, ‘लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताहरु आऊन्, लगानी गरुन भन्ने हाम्रो आग्रह छ ।’

उपराष्ट्रपतिले नेपाल र अमेरिकाको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरीय भ्रमणको आवश्यक रहेको बताए । उनले मिलिनियम च्यालेन्ज कोपरेशन (एमसीसी) संझौताबाट नेपालले धेरै लाभ लिने बताउनुहुँदै धन्यवाद दिए । उपराष्ट्रपतिसँगको भेटमा अमेरिकी राजदूत बेरीले अमेरिका र नेपालको सम्बन्ध चासो, मुल्य र मान्यतामा आधारित रहेको बताए । नेपालको सुरक्षा चासो र प्राथमिकता नै अमेरिकाको चासो र प्राथमिकता रहेको बताउँँदै उनले नेपालले सार्वभौम र स्वतन्त्र रुपमा आफ्नो र विश्वको बारेमा निर्णय लिन सकोस भन्ने अमेरिकाको धारणा रहेको बताए ।

‘अमेरिका नेपालको लोकतन्त्र सुदृढ् भएको, जनताको आकांक्षाहरु पूरा भएको, राजनीतिक स्थायित्व हासिल भएको देख्न चाहन्छ,’ उनले भने, ‘नेपालले सार्वभौम रुपमा आफ्नो निर्णय गर्न सकोस्, स्वतन्त्र रुपमा विश्वमै आफ्नो निर्णय लिन सकोस् ।’

अमेरिकी राजदूत बेरीले नेपालमा लगानी गर्ने वातावरण बनेको बताए । ‘नेपालमा लगानी गर्ने वातावरण प्रभावकारी रुपमा बनेको छ,’ उनले भने, ‘यसको मिलिनियम च्यालेन्ज कोअपरेशन (एमसीसी) संझौता हुनु यसको प्रमाण हो ।’

राजदूत बेरीले नेपालको लगानी सम्मेलन र भ्रमण वर्ष २०२० सफल पार्न आफू र अमेरिकाको पूर्ण सहयोग रहने बताए । उनले दुई देशबीचको उच्चस्तरीय भ्रमणको खाँचो रहेको बताउनु हुँदै त्यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए । ‘दुई देशबीच उच्चस्तरीय भ्रमण हुनुपर्दछ । दुई शिर्ष नेताको भेटले निर्णय लिन र कार्यान्वयन गर्न सहज हुन्छ,’ उनले भने, ‘धेरै वर्षपछि नेपालको तर्फबाट परराष्ट्रमन्त्रीले अमेरिकाको भ्रमण गर्नुभयो । म आशा गर्छु, त्यो अन्तिम नहोस् ।’

तस्वीरः मनोज घर्तीमगर

कमेन्ट गर्नुहोस्

%d bloggers like this: