Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हाकिमसँगको झगडाले हुनसक्छ हृदय रोग

काठमाडौँ, फागुन २३। हृदयाघात हुने प्रमुख कारणमा जसले पनि शारीरिक व्यायामको कमी, मोटोपन, सुर्तीजन्य पदार्थको सेवन र वंशाणुगत समस्यालाई लिने गर्दछन्। यो सत्य पनि हो, तर यी बाहेकका केही अन्य कारण पनि छन् जसले मानिसमा हृदयाघात हुनसक्छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)द्वारा जारी एक तथ्यांक अनुसार विश्वमा वर्षेनी हुने मृत्यु हुने कारणमध्ये हृदयाघात पनि एक हो।

बिबिसी नेपाली सेवाले मुटुरोगसम्बन्धी खासै सार्वजनिक नभएका केही जोखिमबारे एउटा सामग्री प्रकाशित गरेको छ।

प्रस्तुत छ उक्त सामग्रीको सम्पादित अंश:

दाँत सफा नगर्नु

दाँत र पेटबीचको सम्बन्ध सबैलाई थाहा भएकै कुरा हो। त्यस्तै दाँत र मुटुबीच समेत हामीले सोचेभन्दा बढी सम्बन्ध छ।

विभिन्न अध्ययनहरूले के देखाएका छन् भने खराब दन्तस्वास्थ्य हुनेहरूमा मुटुसम्बन्धी धेरै समस्या हुन्छ।

रक्तस्राव वा गिजा सुन्निनुले मुखमा रहेको कीटाणुलाई रक्तप्रवाहमा छिर्ने अवसर दिन्छ।

यसले धमनीमा ‘फ्याटी प्ल्याक’ अर्थात् चिल्लो पदार्थको पत्र बनाउन सहयोग गर्छ। अनि कलेजोमा केही प्रकारका प्रोटिन बढाइदिन्छ र रक्तप्रवाह बढाइदिन सक्छ।

यसबाट हृदयाघात वा मस्तिष्काघात हुन सक्छ।

यसको समाधानका लागि नियमित रूपमा दाँत सफा गर्ने र दन्तचिकित्सकसँग नियमित परामर्श लिने गर्नु पर्दछ।

. हाकिमलाई घृणा गर्नु

हुन त यो ठट्टा जस्तै लाग्न सक्छ तर त्यसो होइन।

हालै सार्वजनिक केही अध्ययनहरूले के देखाएका छन् भने हाकिमलाई घृणा गर्दा मुटुसम्बन्धी रोग बढ्न सक्छ।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एउटा स्वीडिश अध्ययनले कार्यस्थलमा नेतृत्व गर्ने व्यक्तिसँग खराब सम्बन्ध हुँदा ४० प्रतिशत मानिसहरूमा हृदयाघातको सम्भावना बढ्ने कुरा पत्ता लगाएको छ। सो अध्ययन १० वर्ष लगाएर गरिएको थियो।

“कार्यस्थलमा हुने गम्भीर तनाव हृदयाघातको कारण बन्न सक्छ,” ओर्लान्डोस्थित हेल्थ हार्ट इन्स्टिट्युटका मुटुरोग विशेषज्ञ विजय कुमार बताउँछन्।

अपर्याप्त निद्रा र अनुपयुक्त आहारजस्ता कारणले मुटुको रोग हुने खतरा झन् बढ्छ।

. हृदयविदारक घटना

आकस्मिक रूपमा हुने परिवारजनको मृत्युजस्ता हृदयविदारक घटनाले पनि तपाईँको मुटुमा नराम्रो असर पार्न सक्छ।

अमेरिकन मेनपोज सोसाइटीका अनुसार जीवनमा तीन वा त्यसभन्दा बढी हृदयविदारक घटना भोगेका महिलाको रक्तसञ्चार प्रणाली त्यस्तो अनुभव नभएको महिलाको तुलनामा निकै कमजोर हुन्छ।

मुटुविशेषज्ञ ज्याकी युवानीका अनुसार तनाव बढ्दा अड्रेनलिनको उत्पादनमा उल्लेख्य वृद्धि हुन सक्छ।

ब्रिटिश हार्ट फाउन्डेसनले प्रकाशित गरेको एउटा रिपोर्ट अनुसार अड्रेनलिनको स्रावले मुटुको कार्यक्षमता बढ्ने विश्वास गरिने गरेको भएपनि यसको अत्यधिक स्रावले रक्त संचारको गति बढ्न गई मुटुको चाल र रक्तचाप बढ्छ। त्यसबाट मुटुको समस्या हुन सक्छ।

. एक्लो अनुभूति हुनु

अर्को एउटा ब्रिटिश मेडिकल जर्नलका अनुसार सीमित सामाजिक सम्बन्ध भएका व्यक्तिहरूमा मुटुरोग हुन सक्ने सम्भावना २९ प्रतिशत बढी हुन्छ भने हृदयाघात हुने सम्भावना ३२ प्रतिशत बढी।

त्यसको एउटा कारण के हो भने एक्लोपन तनावपूर्ण हुन सक्छ र त्यस्ता व्यक्तिहरूसँग आफ्नो मनोभाव व्यवस्थापन गर्न सघाउने कोही पनि हुँदैनन्।

सन् २०१४ मा अक्स्फोर्ड विश्वविद्यालयले प्रकाशित गरेको एक अध्ययनमा आठ वर्षको अवधिमा सात लाखभन्दा बढी महिलाको विश्लेषण गरिएको थियो।

साथीसँग बस्ने महिलाहरूमा मुटुसम्बन्धी रोगबाट मर्ने सम्भावना एक्लै बस्ने महिला भन्दा २८ प्रतिशत कम हुन्छ भन्ने सो अध्ययनले देखाएको थियो।

उदासीनता हुनु

अमेरिकन हार्ट एसोसिएशनका अनुसार हृदयाघात भइसकेका अमेरिकीहरूमध्ये ३३ प्रतिशतभन्दा बढीमा डिप्रेशन अर्थात् उदासीनता हुन सक्ने सम्भावना रहन्छ।

मानसिक समस्या रहेका व्यक्तिहरू स्वस्थ निर्णय लिन पनि नसक्ने विशेषज्ञहरूको अनुमान छ।

न्यूयोर्कस्थित जोन एच टिश सेन्टर फर विमन्ज हेल्थकी मेडिकल निर्देशक नीसा गोल्ड्बर्ग भन्छिन् – स्वस्थ आहार वा मदिरासेवनमा नियन्त्रण गर्नु डिप्रेशन भएका धेरैमा पर्याप्त हुन्छ।

“नराम्रो परिस्थितिमा भएका मानिसहरू आफूलाई शान्त पार्न जेसुकै पनि गर्न सक्छन्। उनीहरू आफू स्वस्थ भएको वा नभएको विचार गर्दैनन्।”

महिनावारी हुन छोड्नु

मेनपोज अर्थात् महिलावारी हुन छोडेपछि महिलाहरूमा हृदयाघात हुने सम्भावना बढ्छ।

रजोनिवृत्ति भएका महिलाको शरीरमा इस्ट्रजन हर्मोनको मात्रा घट्छ।

इस्ट्रजन हर्मोनले धमनीको भित्री सतहलाई राम्रो गर्छ भन्ने मान्यता छ। त्यसले रक्तनलीहरूलाई लचिलो हुन सघाउँछ।

मुटुविशेषज्ञ ज्याकी युवानी भन्छिन् – उमेर बढेसँगै रक्तनलीमा अररोपन बढ्छ र त्यसले धमनीभित्र चाप बढाइदिन्छ।

तर राम्रो आहार र नियमित व्यायामले त्यस्ता प्रभावहरूलाई निस्तेज पारिदिन सक्छन्।

७. एका बिहानै

स्वास्थ्यसम्बन्धी वेबसाइट मेडिक्लिकका अनुसार फिलिपिनी काउन्सिल फर हेल्थ रिसर्च एण्ड डेभलपमेन्टको प्रतिवेदनलाई उद्धृत गर्दै हृदयाघातको सम्भावना एकाबिहानै बढी हुने बताएको छ।

कार्डियोलोजी जर्नलमा प्रकाशित उक्त रिपोर्ट अनुसार एकाबिहानै हृदयाघातको सम्भावना अरु बेलाभन्दा २० प्रतिशत बढी हुने गर्दछ ।

रिपोर्टमा यसको कारणको रूपमा एकाएक शरीरको गतिविधि बढ्दा शरीरमा अड्रेनलिन हार्मोनको स्राव बढ्ने र प्लेट्लेट्सको मात्रा समेत बढ्नाले यस्तो जोखिम बढ्न जाने हुन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: