धरहरा पुनः निर्माणको कामले गति लियो, २ वर्षभित्रै सकिएला काम?

काठमाडौं, फागुन २३ । एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करिब आठ प्रतिशत काम सकिएको छ । जमिनमुनि पिल्लर राख्ने काम अहिले धमाधम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिए ।

प्रमुख मानन्धरका अनुसार जमिनमुनिको काम सकेसँगै देखिने गरी काम गरिन्छ । अहिलेकै गतिमा काम अघि बढे दुई वर्षको निर्धारित समयमा नै काम सकिने अनुमान छ । जगभन्दा मुनि नै १८२ पिल्लर राख्नुपर्ने भएकाले हालसम्ममा ५६ वटा पिल्लर राख्ने काम सकिएको छ ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीको घोषणाः दुई वर्षभित्र नमूना डिजाइनमा धरहराको निर्माण

 विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका धरहरा पुनःनिर्माणका लागि गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । सो अवसरमा उनले धरहराको इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट यसको निर्माण गर्ने बताएका थिए । हाल सोहीअनुरुप निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुईवटा लिफ्ट पनि हुनेछ । साथै एउटा परम्परागत भर्‍याङ रहनेछ । लिफ्ट र भर्‍याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्सट्रक्सनले धरहराको पुनः निर्माण शुरु गरेको हो । कूल तीन अर्ब ४८ करोड रुपैयाँ लगानीमा निर्माण हुने धरहरा धरहरा २२ तला र ७२ मिटर अग्लो हुनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् ।

याे पनि पढ्नुस  धरहरा पुनर्निर्माण अलपत्र

निर्माण भइरहेको धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुने छ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

धरहराको १८ औँ तलामा अवलोकलन कक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुराँको साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिने छ । जहाँ ३५० वटा गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ ।

याे पनि पढ्नुस  २२ तलाको धरहरा, लगानी सवा चार अर्ब, यसकारण टेलिकमको प्रस्ताव ‘रिजेक्ट’

एघार तले धरहरा ९० सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तलामा सिमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए । तत्कालका लागि गौश्वारा हुलाक कार्यालय रहेको भवन अन्यन्त्र सार्नका लागि केही समस्या भएकाले काम गर्न अलि कठिन भएको छ । अबको तीन महीनाभित्र हुलाक कार्यालयलाई बबरमहलमा सार्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्