Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विप्लवको गाउँमा प्रहरीको ‘सर्च अपरेशन’ विरुद्ध विद्यार्थी र सर्वसाधारण उत्रिए

कपिलवस्तु, फागुन २३ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । विप्लवको गाउँ कपिलवस्तुको शिवराज नगरपालिका–९, मा प्रहरीले चलाएको सर्च अभियानका क्रममा घरबाट भागेका दुर्गाबहादुर रोकालाई गोली प्रहार गरेर प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले प्रहार गरेको गोली रोकाको खुट्टामा लागेको छ । भाग्दै गरेका रोकालाई खुट्टामा गोली प्रहार गरेर नियन्त्रणमा लिइएको कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए । खुट्टामा गोली लागेका रोकाको बुटवलमा रहेको अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

उनको घरबाट प्रहरीले दुई वटा एसएमजी, एउटा चाइनिज पेस्तोल र २०२ राउन्ड गोली बरामद गरेको पनि प्रहरी उपरीक्षक पुडासैनीले जानकारी दिए । त्यस्तै, केही तार, रिमोट डिभाइस, डायरी, कागजपत्र र महत्वपूर्ण दस्तावेज बरामद गरिएको उनले बताए ।

यस्तै स्थानीय यादव चन्दको घरमा खानतलासी गर्न खोज्दा भने स्थानीय र प्रहरीबीच झडप भएको छ । स्थानीय नेपाल आदर्श आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहेका चन्दको घरमा कुनै पनि हालतमा खानतलासी गर्न नदिने भन्दै विद्यालयका विद्यार्थीहरु र स्थानीयले प्रतिकार गरेपछि झडप भएको थियो ।

प्रहरीले घर खानतलासीको पूर्जीबिना नै गाउँभरिका घरमा पस्न खोजेको भन्दै प्रहरीको सर्च अपरेशनविरुद्ध स्थानीय प्रतिकारमा उत्रिएका थिए । आक्रोशित विद्यार्थीहरुले ढुंगा प्रहार गर्दा २ जना प्रहरी सामान्य घाइते भएका छन् । प्रहरी जवानहरु अमर वली र पुतली चौधरी घाइते भएको वडा प्रहरी कायालय चन्द्रौटाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: